काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९६ लाख ७० हजार ८ सय ८३ मत गणना गरिएको छ ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ । निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा (एमाले)ले २६ लाख ७ हजार ४ सय ७२ मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेसले २४ लाख ७० हजार२ सय ३४, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७९ हजार ९४, नेकपा (माओवादी केन्द्र) ले ११ लाख ७ हजार ७ सय १८ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ५३ हजार ९ सय ७४, जनता समाजवादी पार्टीले ३ लाख ६७ हजार ७ सय ६० मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् ।
थ्रेस होल्ड कटाउनका लागि सङ्घर्षरत दलमा नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टी छन् । आयोगको विवरणअनुसार जनमत पार्टीले ३ लाख १६ हजार ९ सय ७४ मत प्राप्त गरेको छ भने एकीकृत समाजवादीले २ लाख ६५ हजार ९ सय ७४ मत प्राप्त गरेको छ । बाँकी रहेको मतगणनामा ती दलले थ्रेस होल्ड कटाउने अपेक्षा राखेका छन् ।
आयोगका अनुसार नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार ५सय ४८, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ३८ हजार ६ सय ९०, नेपाल मजदूर किसान पार्टीले ७३ हजार २ सय १५ , हाम्रो नेपाली पार्टीले ५३ हजार ३ सय ४४ मत, मंगोल नेशनल अर्गनाइजेशनले ४६ हजार ५ सय २२, राष्ट्रिय जनमोर्चाले ४५ हजार ३ सय ३४, नेपाल सङ्घीय समाजवादी पार्टीले ३५ हजार ६ सय ९० मत प्राप्त गरेका छन् ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कूल ४७ दलले निर्वाचन प्रक्रियामा भाग लिएका थिए । त्यसमध्ये सबैभन्दा अन्तिममा रहेको राष्ट्रिय नागरिक पार्टीले १ हजार ८ सय ४९ मत प्राप्त गरेको छ । प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त गर्नका लागि प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्छ भने समानुपातिकमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्छ । कुल खसेको सदर मतको तीन प्रतिशत थ्रेस होल्ड कटाएपछि राष्ट्रिय दलको मान्यता तथा सेवा सुविधा प्राप्त हुन्छ ।



