काठमाडौं । विश्वकप फुटबल अन्तर्गत आजदेखि समूह चरणको अन्तिम खेल हुँदैछ । आजको खेलबाट नकआउट (अन्तिम १६) मा पुग्ने टिम निश्चित हुनेछ ।
अहिलेसम्म सबै समूहको २ २ वटा खेल भइसकेका छन् । २ खेल खेल्दाको अवस्थामै फ्रान्स, ब्राजिल र पोर्चुगलले आफ्नो नकआउट चरणको यात्रा तय गरिसकेका छन् ।
समूह चरणबाट सम्बन्धित समूहका टिमहरुले पाएको अंकका आधारमा नबआउटमा छनौट गरिने व्यवस्था छ । तर, कहिलेकहिँ त्यस्तो अंक बराबर भइददिन सक्छ । त्यस्तो अवस्थामा के गर्ने त ?
विश्व फुटबल महासंघ (फिफा) ले यसका विभिन्न आधार तयार गरेको छ । जसअनुसार समूहको छनौट हुनेछ । जुन यसप्रकार छ ।
१. अंक
समूह चरणको खेलमा जित्ने टिमलाई ३ अंक, हार्नेलाई शुन्य अंक र बराबर हुँदा दुवै टिमलाई १ १ अंक दिइन्छ । यस अनुसार समूह चरणमा सबैभन्दा बढी अंक ल्याउने दुई टिम नकआउटमा प्रवेश गर्छन् ।
२. गोल अन्तर
यदि दुवै दुई वा बढी टिमको अंक एउटै भयो भने सो खेलमा ती समूहहरुले गरेको गोल र खाएको गोलको अन्तरका आधारमा नकआउट खेल्ने टिमको छनौट हुन्छ । गोल अन्तर धेरै भएको टिम नकआउटमा जान्छ ।
३. गरेको गोल संख्या
कहिलेकाहिँ गरेको गोल र खाएको गोलको अन्तर समेत बराबर भइदिन सक्छ । यस्तो अवस्थामा गरेको गोल जसको बढी छ सोही टिम अर्को चरणमा जाने व्यवस्था फिफाले गरेको छ ।
४. एकआपसको खेल (हेड टू हेड)
गोल संख्या समेत बराबर भएको अवस्थामा जुन टिमबीच अर्को चरणको लागि निर्णय हुन लागेको हो, ती टिमहरुबीच भएका खेलमा क्रमशः पाएको अंक, गोल अन्तर र गोलको संख्याको आधारमा विजेता छनौट हुन्छ । त्यस्तो खेलमा जितेको टिम अघिल्लो चरणको दाबेदार हुन्छ ।
५. फेयर प्ले
समूह चरणका खेलमा टिमको फेयर प्ले अर्थात् पाएका खेलमा पहेँलो वा रातो कार्ड कम पाएको टिमलाई अघिल्लो चरणमा लैजाने गरिन्छ ।
६. लक्की ड्र
त्यसबाट पनि भएन भने फिफाको आयोजक कमिटिले दुई टिमबीच लक्की ड्र गर्नेछ । जसले जित्छ उही अघिल्लो चरणको दाबेदार हुन्छ ।



