काठमाडौँ । थापाथलीको सुकुम्बासी बस्ती हटाउन जाने क्रममा बस्तीका मानिसहरुको आक्रमणमा परी काठमाडौँ महानगरपालिकाका प्रहरी उपरीक्षक एवं प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित ३६ जना प्रहरी घाइते भएका छन् । घाइतेका उपचारमा खटिएका नगर प्रहरी निरीक्षक सूर्य केसीका अनुसार ३४ जनाको थापाथलीस्थित नर्भिक अस्पतालमा र २ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेमध्ये धेरैको टाउकोमा चोट छ । के सीका अनुसार ‘स्वास्थ्य गम्भीर भएको सूचना पाएका छैनौँ । टाउकोमा ७ टाँकासम्म लगाउनु परेको छ । 'यस्ता घाइते धेरै हुनुहुन्छ । टाउकोबाहेक छाती, ढाड र खुट्टामा चोट लागेका विरामी धेरै हुनुहुन्छ’ ।
‘नदी किनारामा निर्माण भएका घरटहरा, त्यहाँ राखिएका निर्माण सामग्री तथा सवारी साधन हटाउन अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले सार्वजनिक सूचना जारी गरेको थियो । सूचनाअनुसार मंसिर ४ गतेभित्र बस्तीका संरचना खाली गर्नु पर्ने थियो ।
त्यस अवधिमा किनाराका संरचना हटेको थिएन ।’ आजको घटनाका बारेमा जानकारी दिँदै महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले भने, ‘गृह प्रशासनसँग समन्वय गरेर सचेत गराउने क्रममा थियौँ । त्यही क्रममा बस्तीमा पुग्न नपाइकन स्थानीयबाट घरेलु हतियारसहित ढुङ्गा हानेर आक्रमण भयो । यसबाट नगर प्रहरीहरु घाइते भएका छन् ।’
स्थानीयले ढुङ्गा प्रहारसँगै टायर बालेर प्रदर्शन गरेका थिए ।



