images
images

समानुपातिकतर्फ ९३ लाख मत गनियो, कसकाे कति ?


  • 449
    SHARES
  • २०७९ मंसिर १२ गते सोमबार

    समानुपातिकतर्फ ९३ लाख मत गनियो, कसकाे कति ?

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९३ लाख ५ हजार ७ सय ६६ मत गणना गरिएको छ ।

    समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ । निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा (एमाले) ले २५ लाख ३४ हजार ३ सय २३ मत प्राप्त गरेको छ । 

    नेपाली कांग्रेसले २३ लाख ९९ हजार ८ सय ३१, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार सात सय १८, नेकपा (माओवादी केन्द्र) ले १० लाख ६२ हजार ७ सय ४७ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार ६ सय ५६, जनता समाजवादी पार्टीले तीन लाख २६ हजार ३ सय ७२ मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् । 

    थ्रेस होल्ड कटाउनका लागि सङ्घर्षरत दलमा नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टी छन् । आयोगको विवरणअनुसार जनमत पार्टीले दुई लाख ६२ हजार ८ सय २६ मत प्राप्त गरेको छ भने एकीकृत समाजवादीले २ लाख ५२ हजार २७ मत प्राप्त गरेको छ । बाँकी रहेको मतगणनामा ती दलले थ्रेस होल्ड कटाउने अपेक्षा राखेका छन् । 

    आयोगका अनुसार नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार नौ सय ६२, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख २७ हजार ९ सय १८, नेपाल मजदूर किसान पार्टीले ७२ हजार ८ सय, हाम्रो नेपाली पार्टीले ५२ हजार आठ सय ४३ मत, मंगोल नेशनल अर्गनाइजेशनले ४५ हजार ६ सय ६३, राष्ट्रिय जनमोर्चाले ४४ हजार ८ सय ७३, नेपाल सङ्घीय समाजवादी पार्टीले ३१ हजार २ सय २९ र नेकपा (माले) ले २६ हजार ९ सय ७१ मत प्राप्त गरेका छन् । 

    समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कूल ४७ दलले निर्वाचन प्रक्रियामा भाग लिएका थिए । त्यसमध्ये सबैभन्दा अन्तिममा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार छ सय ९४ मत प्राप्त गरेको छ । 

    त्यस्तै आयोगले प्रदेशतर्फको पनि समानुपातिकतर्फको मतगणना जारी राखेको छ । प्रदेश नं १ मा १५ लाख ८४ हजार ८ सय ६९ मतगणना भइसकेको छ । मधेश प्रदेशमा १६ लाख २५ हजार सात सय ५८, वाग्मती प्रदेशमा १५ लाख ९८ हजार ४ सय ३४, गण्डकी प्रदेशमा ९ लाख १८ हजार ८ सय ३९, लुम्बिनी प्रदेशमा १८ लाख ५९ हजार ६२, कर्णाली प्रदेशमा पाँच लाख ७७ हजार ८ सय २९ र सुदूरपश्चिम प्रदेशमा ८ लाख ७ हजार १ सय ३८ मत गणना भइसकेको छ । 


    images
    images

    Logo