images
images

विपी प्रतिष्ठानमा बिरामीको बेडमै औषधि पुग्ने 


  • 378
    SHARES
  • २०७९ आश्विन १ गते शनिबार

    विपी प्रतिष्ठानमा बिरामीको बेडमै औषधि पुग्ने 

    धरान । प्रदेश  नं. १ को प्रमुख स्वास्थ्य संस्था विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा फार्मेसी सेवा सुरु भएको छ । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप स्वास्थ्य सेवामा सर्वसाधारणाको प्रभावकारी पहुँच सुनिश्चित गर्न प्रतिष्ठान आफैँले फार्मेसी स्थापना गरी सञ्चालनमा ल्याएको हो ।

    सो सेवाको प्रतिष्ठानका उपकूलपति डा. ज्ञानेन्द्र गिरीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै उपकूलपति डा. गिरीले आफ्नै फार्मेसीमार्फत् बिरामी तथा सेवाग्राहीलाई सुलभ एवम् गुणस्तरीय सेवा पुर्याउने बताए । यसअघि आफ्नै फार्मेसी नहुँदा बिरामीले निजी क्षेत्रका फार्मेसीको भर पर्नुपर्ने बाध्यता थियो । 

    307601571_584467130130993_5182791769546866103_n.jpg
    फार्मेसी सेवा सुरू भएसँगै सर्वसाधारणलाई गुणस्तरीय औषधि सर्वसुलभ रुपमा उपलब्ध हुने र प्रतिष्ठानलाई पनि आर्थिक रुपमा टेवा पुग्ने उपकुलपति गिरीको भनाइ छ । उद्घाटन समारोहमा बोल्दै रजिष्टार प्रा. डा. सूर्य प्रसाद संग्रौलाले अस्पताल हाताभित्रैबाट औषधिहरु उपलब्ध हुँदा बिरामीहरुलाई रातरात अन्यत्र जानुपर्ने समस्याबाट राहत भएको बताए । 

    प्रतिष्ठानका अस्पताल निर्देशक एवम् फार्मेसी सञ्चालन तथा व्यवस्थापनका संयोजक डा. जगत नारायण प्रसादले औषधि र औषधिजन्य पदार्थ सामाग्रीहरुको उपलब्धतालाई सहज, व्यवस्थित एवम् प्रभावकारी बनाउने बताए । अस्पतालमा भर्ना भएका बिरामीहरुलाई अन्यत्र कतै औषधि खरिद गर्न जानुनपर्ने गरी प्रतिष्ठान फार्मेसीबाट बिरामीको बेडमा नै औषधि पुर्याउने लक्ष्य सहित काम अघि बढाइएको जनाइएको छ । 

    प्रतिष्ठान फार्मेसी शाखाका प्रमुख लक्ष्मण महर्जनले प्रतिष्ठानको फार्मेसी पूर्णरुपमा सञ्चालनमा आएकोमा खुशी व्यक्त गर्दै यसको सञ्चालनमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिए। कार्यक्रममा विभिन्न विभाग, महाशाखा, शाखाका प्रमुखहरु लगायत शिक्षक, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।


    images
    images

    Logo