काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपुर्जा वितरण गर्नेलगायतका सम्पूर्ण कार्य स्थगित गर्न र ३ तहका सरकारलाई वैदेशिक भ्रमण नगर्न नगराउन आज निर्देशन दिएको छ ।
आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तय भई तयारीका कार्यहरू भइरहेको र समानुपातिक निर्वाचन प्रणालीतर्फ आगामी असोज २ र ३ गते उम्मेदवार मनोनयनको बन्दसूची पेश गर्ने कार्यक्रम रहेको सन्दर्भमा आयोगले सो निर्देशन दिएको हो ।
आयोगले निर्वाचनका अन्य कार्यक्रम पनि सञ्चालन हुने गरी राजपत्रमा सूचना प्रकाशत गरिसकेको छ । निर्वाचनमा स्वच्छता र निष्पक्षता कायम राख्न निर्वाचन सम्पन्न नभएसम्मका लागि आफू र आफ्नो मातहतबाट हुने र भइरहेका जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्नेलगायतका सम्पूर्ण कार्यहरु तत्काल स्थगित गरी सोको यथार्थ जानकारी २ दिनभित्र आयोगलाई दिन राष्ट्रिय भूमि आयोग, ताहाचल, काठमाडौँलाई निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी सम्बन्धित आयोजक तथा प्रायोजकबाट सम्पूर्ण खर्चहरू बेहोेर्ने गरी स्वीकृत गरिने वैदेशिक भ्रमणबाहेक नेपाल सरकारलाई प्राप्त हुने अनुदान तथा सहयोग रकमबाट र नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कोषबाट कुनै पनि रकम खर्च हुने गरी गरिने वैदेशिक भ्रमण नगर्न नगराउन नेपाल सरकार, सातवटै प्रदेश सरकार र ७ सय ५३ वटै स्थानीय तहलाई आयोगले निर्देशन दिएको छ ।



