काठमाडौं । तत्काल ब्रोकर लाइसेन्स बाँड्न पाउने गरि ब्रोकर समबन्धि नियमावलीमा पाचौ संशोधन भएको छ। धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) (पाँचौ संशोधन) नियमावली २०७९ जारी गर्दै धितोपत्र बोर्डले यस्तो बाटो खुला गरेको हो ।
संशोधित नियमावलीअनुसार नियमावली प्रारम्भ भएपछि पहिलो पटक धितोपत्र दलाल र धितोपत्र व्यापारीको अनुमतिपत्र जारी भएपछिको प्रत्येक ३ बर्षमा बोर्डले धितोपत्र बजारमा उपलब्ध भौतिक सुबिधा, बजारको आवश्यकता, प्रतिस्पर्धाको अवस्था समेतको अध्ययन गरी नयाँ अनुमतिपत्रको लागि निवेदन माग गर्न उल्लेख गरेको छ । अर्थात् तत्काल ब्रोकर लाईसेन्स बितरण गर्ने र ३ वर्षपछि फेरी ब्रोकर लाईसेन्स वितरण गर्ने बाटो बोर्डलाई खुलेको छ ।
ब्रोकर लाईसेन्सको लागि ३० दिनको अवधि राखेर सूचना प्रकाशन गर्ने र ३५ दिन भित्र बोर्डले लाईसेन्स दिई सक्ने ब्यबस्था गरिएको छ । त्यस्तै नियमावलीमा तीन तहको धितोपत्र दलाल व्यवसायी विभाजन गर्दै न्युनतम चुक्ता पुँजी २० करोडदेखि डेढ अर्ब रुपैयाँ पुर्याईएको छ। पाँचौ संशोधनले दिएको अधिकार प्रयोग गरी बोर्डले नियमावली लागु भएको पहिलो वर्ष सेयर ब्रोकर लाइसेन्स अनुमतिपत्रका लागि निवेदन माग गर्न सक्नेछ।
नियमावली अनुसार अब ब्रोकरको ३ तह रहने छ । जसमा सिमित कार्य गर्ने ब्रोकर, पूर्ण कार्य गर्ने ब्रोकर र स्टक डिलर रहेका छन्। जसमा सिमित कार्य गर्ने ब्रोकरको चुक्ता पुँजी २० करोड, पूर्ण कार्य गर्ने ब्रोकरको चुक्ता पुँजी ६० करोड र स्टक डिलरको चुक्ता पुँजी डेढ अर्ब तोकिएको छ ।



