काठमाडौं । १० दिनभित्र पेट्रोलियम ट्याङ्करको भाडा बढाउने सहमति भएको छ । सरकारसँग ३ बुँदे सहमति गर्दै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले विरोधका कार्यक्रम फिर्ता लिएको हो । सहमतिपत्रमा पूर्ति तथा वितरण विभागका निर्देशक वीरन्द्र गोइत र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहराको हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार आजैबाट आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी सेवा सुरु गर्ने निर्णय भएको छ । यसका साथै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा वृद्धि तथा समायोजन गर्न माग गरेकोमा यसबारेमा असोज ७ गते सम्ममा निर्णय गरी लागू गर्ने सहमति भएको छ ।
त्यस्तै, नेपाल पेट्रोलियम टैंकर चालक संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले राखेका मागका सम्बन्धमा महासंघको प्रतिनिधिसहित सम्बन्धित संघ तथा संगठनको प्रतिनिधिहरूको उपस्थितिमा आवश्यक छलफल गरी शिघ्र उचित सम्बोधन गर्ने सहमति भएको छ ।




