काठमाडौं । नेपालको चारदिने भ्रमणमा रहनु भएका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन गरेका छन् ।
आज बिहान ९ बजेर २० मिनेटमा ऐतिहासिक विश्व सम्पदा सूचीँमा सुचिकृत भक्तपुर दरबारस्क्वायर पुग्नु भएका अध्यक्ष ली टोलीले भक्तपुर दरबारक्वायर, पचपन्न झ्याले दरबार, स्वर्णद्धार तथा सुनधाराको अवलोकन गरेका थिए ।
पचपन्न झ्याले दरबारको बनावटलाई निकै चासोका साथ अवलोकन गर्दै लीले यहाँका सम्पदाहरुमा भूकम्पले पुर्याएको क्षतिको बारेमा जानकारी लिएका थिए । उनीलाई भक्तपुर नगरपालिकाका पर्यटन सूचना केन्द्रका प्रमुख गौतम लासिवाले भक्तपुरको सम्पदाहरुमा भूकम्पले पुर्याएको क्षतिकोबारेमा जानकारी गराएका थिए ।
लासिवाले भक्तपुरका भूकम्पले क्षति पुर्याएको ८० प्रतिशत सम्पदाहरुको पुर्ननिर्माण सम्पन्न भएको जानकारी गराएका थिए । अध्यक्ष चान्सुले यहाँको पुर्ननिर्माणमा विदेशी दातृ निकायको सहयोगकोबारेमा जिज्ञासा राखेका जानकारी दिँदै लासिवाले भक्तपुर नगरभित्रका सम्पदाको पुर्ननिर्माण नगरपालिका, नेपाल सरकार एवं स्थानीयवासीको सहयोगमा सम्पदा गरिएको जानकारी गराएका थिए ।
टोलीले नगरपालिकाले हालै पुर्ननिर्माण सम्पन्न गरेको सिलु महादेव (फसीदेग)को अवलोकन गरेपछि पैदल नै पाँचतले मन्दिर पुगेर त्यहाँको अवलोकन गरेको थियो । अध्यक्ष चान्सुले पाँच तले मन्दिरमा भूकम्पले क्षति नपुर्याउने गरि बलियोसँग कसरी बन्यो होला भन्ने जिज्ञासा राखेका लासिवाले जानकारी दिए ।
पाँच तले मन्दिर र सँगैको भैरब मन्दिरको बनावट, निर्माणमा परम्परागत सामग्रीको प्रयोग तथा यहाँका पुराना आर्किटेक्चरको योजना अनुसार निर्माण भएकाले क्षति नपुगेको जानकारी गराएका थिए ।
टौमढीमा नगरपालिकाले स्थानीय सम्पदा, कला, संस्कृति र नाचका तस्विरहरु प्रर्दशन गरेको थियो । टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, संघीय सांसद प्रेम सुवाल, वाग्मति प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाई, सृजना गोसाई, नगरपालिकाका उपप्रमुख रजनी जोशी, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालगायत, नगर कार्यपालिकाका सदस्यहरुले दरबारस्क्वाय गेटमा स्वागत गरेका थिए ।
जात्रा, पर्व, नाचहरुकोबारेमा जानकारी लिए पछि अध्यक्ष चान्सुले नेपालका धेरै कला, संस्कृति, नाच र परम्पराहरु चीनको संस्कृतिसँग मिल्दो जुल्दो रहेको बताउदै विश्वका बिभिन्न देशका संस्कृति र यहाँको संस्कृतिका केही पक्षहरुमा समानता रहेको बताएका थिए ।
विदाईको क्रममा अध्यक्ष चान्सुसहितको टोलीलाई नगरपालिकाको तर्फबाट मयूर झ्याल, नगरपालिकाका बिभिन्न प्रकाशनहरु प्रदान गरिएको थियो ।
अध्यक्ष चान्सुले नगर प्रमुख प्रजापति, संघीय सांसद सुवाललगायतलाई उपहार प्रदान गरेका थिए । टोलीले भक्तपुरको एक घण्टा अवलोकन गरेर फर्किएको थियो ।
नगरपालिकाले चिनीयाँ पाहुनाको स्वागतमा दरबारस्क्वायरको डबलीमा ऐतिहासिक भैरब प्याँख नाचको प्रस्तुत गरेको थियो ।



