images
images

पत्रकार र उनका परिवारको निःशुल्क आँखा जाँच गरिने


  • 438
    SHARES
  • २०७९ भाद्र २८ गते मंगलबार

    पत्रकार र उनका परिवारको निःशुल्क आँखा जाँच गरिने

    काठमाडौं । पत्रकार र आश्रित परिवारका सदस्यले अब निःशुल्क रुपमा आँखाको जाँच गर्न पाउने भएका छन् । नेपाल पत्रकार महासङ्घ, उपत्यका प्रदेश समिति र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसेजबीच आज भएको समझदारीअनुसार पत्रकार र पत्रकारको परिवारका सदस्यले निःशुल्क आँखा जाँच गराउन पाउने भएका छन् ।

    सम्झौताअनुसार पत्रकारका दृष्टि बचाउने उद्देश्य राखेर उपत्यका प्रदेशको समन्वयमा नियमित रुपमा आई क्याम्पलगायत कार्यक्रम पनि सञ्चालन गरिने भएको छ । ‘पत्रकारको दृष्टि बचाउ अभियान’ अन्तर्गत उपत्यका प्रदेश समितिको सिफारिसमा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीका साथै उनीहरूका परिवारले निःशुल्क रुपमा उक्त सुविधा पाउने छन् ।

    समझदारीपछि नेपाल पत्रकार महासङ्घका केन्द्रीय महासचिव रोशन पुरीले दुई निकायबीच समझदारीले अब पत्रकार तथा सञ्चारकर्मी र तिनका आश्रित परिवारका सदस्यले सजिलैसँग आँखाको जाँच गराउन पाउने बताए। पत्रकारको दृष्टि बचाउ अभियान कार्यक्रमलाई देशभर नै पु¥याउनुपर्ने उनको भनाइ छ । 

    उपत्यका प्रदेशका अध्यक्ष श्रीजन झाले अस्पतालसँगको सहकार्यमा अब नियमित रुपमा आई क्याम्पजस्ता कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । यस अभियानलाई अन्य प्रदेशसँग पनि समन्वय गरेर विस्तार गर्दै लैजाने उनको भनाइ छ ।

    अस्पतालका कर्पोरेट म्यानेजर राजीव झाले पत्रकार तथा परिवारका सदस्यले निःशुल्क आँखाको जाँच तथा निःशुल्क ओपिडी सेवा लिन सक्ने जानकारी दिए। उनका अनुसार पत्रकार तथा परिवारका सदस्यलाई पनि सर्जरीलगायत सेवामा भने १५ प्रतिशतसम्म छुट दिनेछ । प्रदेश महासचिव टेनिस रोकाले अभियानले पत्रकारलाई आँखाको जाँच तथा सुरक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

    एएसजी आँखा अस्पताल नेपाल, भारत र अफ्रिकाको युगाण्डामा कार्यालय रहेको अस्पताल हो । अस्पतालका कर्पोरेट म्यानेजर झाका अनुसार भारतमा यस अस्पतालका एक सय ४० वटा शाखा रहेका छन् । नेपालमा पनि शाखा खोल्ने तयारी भइरहेको उनले जानकारी दिए ।


    images
    images

    Logo