काठमाडौं । सामाजिक सुरक्षा कोषले १० प्रकारका घातक रोग लागेमा १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहीबार बसेको बोर्ड बैठकले सरकारद्वारा निर्धारण गरिएको १० प्रकारका रोग लागेमा उपचार खर्च दिने निर्णय गरेको हो ।
साथै, सो बैठकले ७ प्रदेशबाट वार्षिक ८४ जना श्रमिकका सन्तानलाई स्नातक पढाउन ६ लाख रुपैयाँसम्म छात्रवृत्ति दिने भएको छ ।
श्रम ऐनले श्रमिकको न्यूनतम तलबबाट १० प्रतिशत र रोजगारदाताले सञ्चय कोषबाट १० प्रतिशत, उपदानबापत आधारभूत न्यूनतम तलबको ८.३३ प्रतिशत, औषधि उपचार र दुर्घटनाबापत १.६७ प्रतिशत गरी ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ ।
यो रकम जम्मा भएपछि रोजगारदाताले कुनै दायित्व व्यहोर्नु पर्दैन । योगदानकर्तालाई गत असार २० देखि औषधि तथा दुर्घटना उपचार गरेबापत अस्पतालमा पैसा तिर्नुपर्ने व्यवस्था हटाएको छ ।
कोषमा हालसम्म १७ हजार ३ सय ७१ संस्थासँग आबद्ध ३ लाख ६० हजार ८ सय ५९ श्रमिक सूचीकृत भई योगदान गरिरहेका छन् ।



