काठमाडौं । अविरल वर्षासँग गए राति दार्चुलामा आएको बाढी र पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । सात जना वेपत्ता छन् । महाकाली नदी र लास्कु खोलमा गए राति २ बजेपछि बाढी आएको थियो ।
दार्चुलामा बाढी पहिरोमा परी मृत्यु भएका ५ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिकाका ३ र महाकाली नगरपालिकाका २ छन् । बाढी पहिरोमा परी सातजना अझै बेपत्ता छन् । बेपत्ता सबै सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिकाका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार बाढी पहिरोमा परेर मृत्यु हुनेमा महाकाली नगरपालिका–२ मुल्लाका ७७ वर्षीय नन्दराम बोहरा र महाकाली–३ डुङरीकी ३५ वर्षीया मानमति कार्की तथा नौगाड गाउँपालिका–१ की ३५ वर्षीया जानकी ठगुन्ना र १५ वर्षीया धनुली ठगुन्ना तथा नौगाड–२ का ४५ वर्षीय मोहनराम पार्की छन् ।
पहिरोमा परी नौगाड–४ का रामसिँह ठगुन्ना, विरा ठगुन्ना, फागुली ठगुन्ना र जयवहादुर ठगुन्ना घाइते छन् । उनीहरुलाई सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमा नौगाडबाट खलङ्गा हुँदै केही बेर अघि कैलालीको धनगढी लगिएको सहायक प्रजिअ साउदले जानकारी दिए । जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि चारैजनालाई धनगढी लगिएको उनले बताए ।
यस्तै बाढी पहिरोमा बेपत्ता महाकाली नगरपालिकाको लास्कु र डुङरीका सात जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले खोजि गरिरहेका छन् । बेपत्तामा महाकाली–३ डुङरीका धनसिंह कार्की तथा उनका छोराहरु दीपक र दिनेश तथा अन्य ४ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



