काठमाडौं । नेपनली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले गठबन्धन पवित्र हो कि अपवित्र चुनावपछि भन्न सक्ने बताएका छन् ।
वीपी जयन्तीका अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले धनुषाको जनकपुरधाममा आयोजना गरेको विचार गोष्ठीमा कोइरालाले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै गठबन्धन एकदमै विचित्रको भएको र गठबन्धनमा भएका कुनै दलसँग पनि बिचार नमिल्ने उनले बताए । उनले भने ‘तरपनि नेकपा एमालेले संविधान असफल बनाउन खोजेकोले गठबन्धन गर्नुपरेको हो ।'
कांग्रेसले केन्द्रीय समितिमा गरेको निर्णयमा एकल बहुमत ल्याउनका लागि चुनावी तालमेल गर्ने उनले उल्लेख गरे । उनले भने ‘तालमेल मात्रै होइन कांग्रेसको बहुमत हुने कुरा पनि हाम्रालाई महत्त्वपूर्ण हो । त्यसका लागि त कम्तीमा १०० सीट कांग्रेसले लिनुपर्छ ।'
चुनाव जितेर सरकार बनाउन मात्रै गठबन्धन गरिनु राम्रो नभएको उनले उल्लेख गरे । अहिले कांग्रेसलाई चुनाव जिताउनुपर्ने छ । त्यसका लागि चुनाव जित्न सक्ने नेतालाई बिना भेदभाव टिकट दिनुपर्छ, टिकट वितरण न्यायोचित हुनुपर्छ,' उनले भने ।
उक्त कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा रामकृष्ण यादव र किरण यादव, डा चन्द्र मोहन झा, नेपाल पत्रकार महासंघका पुर्ब अध्यक्ष तारानाथ दहाल, राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, पत्रकार रामजि दहाल तथा दामाेदर दवाडी लगायतले मन्तव्य राखेका थिए ।



