images
images

आगामी निर्वाचनको लागि १३२ मतदानस्थल थप, पुराना ४०१ मतदानस्थललाई हटाएर नयाँ कायम


  • 356
    SHARES
  • २०७९ भाद्र २० गते सोमबार

    आगामी निर्वाचनको लागि १३२ मतदानस्थल थप, पुराना ४०१ मतदानस्थललाई हटाएर नयाँ कायम

    काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने  प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार ८ सय ८८ मतदानस्थलको सङ्ख्या कायम गरेको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा १० हजार ७ सय ५६ मतदानस्थल रहेका थिए । गत वर्षको तुलनामा यस चुनावमा १ सय ३२  मतदानस्थल थप गरिएको हो । 

    आयोगले मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम मतदान व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा मतदातालाई मतदान प्रक्रियामा सहज पहुँचका लागि मतदाताको सङ्ख्या, सुविधा एवं सुरक्षाको अवस्था समेतलाई मध्यनजर गरी केही मतदानस्थल पुनरावलोकन गरेको छ । 

    कार्यविधिमा भएको व्यवस्था बमोजिम मिति २०७९ साउन १ गतेदेखि मतदानस्थल पुनरावलोकन कार्यक्रम सञ्चालन गरी मतदाताको सघनता, मतदानस्थलसम्मको पहुँच, भवन, सञ्चार, विद्युत्, यातायातलगायत पूर्वाधारको अवस्था, सुरक्षा एवं भौगोलिक अवस्था र निर्वाचनका सरोकारवालाको सहमतिका आधारमा जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट प्राप्त सुझावका आधारमा पुनरावलोकन गरिएको हो ।

    सोही आधारमा जिल्लाभरका मतदानस्थल पुनरावलोकन हुँदा एक हजार एक सय २३ मतदानस्थलको त्रुटि सच्याइएको, साविकका तीन सय ६५ मतदानस्थलबाट सबै मतदाता स्थानान्तरण गरी तीन सय ६४ मतदानस्थल निर्धारण गरिएको छ । 

    एक सय ६३ मतदानस्थलबाट आंशिक मतदाता स्थानान्तरण गरी एक सय ६९ मतदानस्थल निर्धारण गरिएको साथै २८ मतदानस्थलका सबै मतदातालाई २८ वटै मतदानस्थलमा र १५ मतदानस्थलका आंशिक मतदातालाई स्थानान्तरण गरी १३ वटा मतदान स्थलमा गाभिएको छ ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार देशभरका मतदानस्थलको सङ्ख्या १० हजार ८ सय ८८ पुगेको छ । यसअघि देशभरका जम्मा १० हजार ७ सय ५६ मतदानस्थल रहेका थिए । मतदानस्थल पुनरावलोकन गर्दा देशभरका ४ सय १ मतदानस्थललाई हटाइ नयाँ मतदान स्थल निर्धारण गरिएको छ ।

    मतदानस्थल पुनरावलोकन भएपश्चात् स्थानीय तहको निर्वाचन, २०७९ को समयमा मतदान गर्नका लागि बास बस्नुपर्ने, निकै टाढा टाढासम्म हिँड्नुपर्ने लगायतको गुनासो सम्बोधन भई मतदातालाई मतदानस्थलसम्मको पहुँच सहज भई निर्वाचनमा मतदाताको सहभागिता अझ बढ्ने अपेक्षा आयोगले गरेको छ ।


    images
    images

    Logo