काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतबीच फेसबुकमै जुहारी चलेको छ । बालेनको सन्की र लहडी आतंक नियन्त्रण गर्ने चेतावनी दिएका बस्नेतको स्टाटसमा बालेनले रिप्लाई दिएपछि बस्नेतले बालेनलक्षित अर्को स्टाटस लेखेका हुन् ।
पहिलो स्टाटसमा कल्याण सुवेदीले पोष्ट गरेको स्टाटस शेयर गर्दै उनले बालेनविरुद्ध टिप्पणी गरेका थिए । उनले अल्फाबिटा कम्प्लेक्स नक्सापास अनुसार निर्माण नगरेर भत्काइएको कि हामीसँग सँगै बसेर फोटो खिचेको भएर भन्ने प्रश्न गरेका थिए ।
जवाफमा बालेनले पहिलो कारणले नै डोजर चलाइएको बताउँदै बरु तपाइँको घरको नक्सापास छ कि छैन भन्ने प्रश्न गरेका थिए । उक्त कमेन्टपछि बस्नेतले बालेनलाई नक्सा हेर्ने भुत चढेको भन्दै आफ्नो घरको नक्सापास हेर्न सूर्यविनायकमा काजमा आउन चेतावनी दिएका छन् ।
उनले सूर्यविनायकमा ध्वंश नभएर निर्माणको लहर चलेको भन्दै ध्वंस गरेर हिरो बन्न नखोज्न समेत चेतावनी दिए ।



