images
images

उपभोक्तालाई ठगी गर्ने १९ हजार व्यापारी कारबाहीमा


  • 460
    SHARES
  • २०७९ भाद्र ८ गते बुधबार

    उपभोक्तालाई ठगी गर्ने १९ हजार व्यापारी कारबाहीमा

    काठमाडौं । नेपाल नापतौल तथा गुणस्तर विभागले पछिल्लो समय नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने व्यापारीको निगरानी बढाएको छ ।

    विभागले आर्थिक वर्ष २०७८/७९ मा अनियमित रुपमा नाप्ने तौलने यन्त्र प्रयोग गरी देशभरका विभिन्न स्थानका उपभोक्तालाई ठगी गर्ने १९ हजार १४ व्यापारीलाई कारबाही गरेको छ । 

    विभागका अनुसार काठमाडौँबाट ८ हजार ८ सय ५१, पोखराबाट १ हजार ६ सय ७९, बुटवलबाट १ हजार ६४, नेपालगञ्जबाट १ हजार ५०, सुर्खेतबाट ४ सय ९, धनगढीबाट १ हजार ६७, सिलगढीबाट १ सय ७४, वीरगञ्जबाट १ हजार २ सय ५१, जनकपुरबाट १ हजार १ सय ३९, विराटनगरबाट १ हजार ४ सय ८५ र झापाबाट ८ सय ४५ व्यापारीलाई कारबाही गरिएको हो ।

    विभागका प्रवक्ता ज्योति जोशी भट्टले नाप्ने र तौलने यन्त्रको प्रयोग गरी उपभोक्तालाई ठगी गरेकाले विभागले उनीहरुलाई कारबाही गरेको जानकारी दिए । उनले पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेकाले उनीहरुमाथि विभागले विशेष निगरानी बढाएको बताए ।

    अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको भेटिएको विभागले जनाएको छ । त्यस्ता व्यापारीमाथि कारबाही गर्दै आइएको प्रवक्ता भट्टले बताए । गत आर्थिक वर्षमा २३ हजार ४९ व्यापारीले नापतौल यन्त्र जाँच गराएका छन् । उक्त जाँच गराउने व्यापारीमध्ये काठमाडौँमा धेरै छन् । काठमाडौँमा ५ हजार ६ सय ४१ व्यापारीले यन्त्र जाँच गराएका हुन् ।

    यस्तै, पोखराबाट ३ हजार ६ सय ७३, बुटवलबाट १ हजार ४ सय ५७, नेपालगञ्जबाट १ हजार एक सय ३७, सुर्खेतबाट सात सय ४८, धनगढीबाट एक हजार सात सय ९३, सिलगढीबाट एक सय ८९, वीरगञ्जबाट दुई हजार दुई सय ६३, जनकपुरबाट एक हजार पाँच सय ७८, विराटनगरबाट तीन हजार तीन सय १९ र झापाबाट एक हजार ५१ व्यापारीले सो यन्त्र जाँच गराएका हुन् ।

    सोही आर्थिक बर्षमा सो यन्त्र प्रयोग गर्न अनुमतिपत्र प्रदान तथा इजाजतपत्र नवीकरण गर्ने व्यापारीको सङ्ख्या ११ हजार तीन सय ६३ रहेको छ । यसैगरी, देशभर नौ हजार ६ सय ५८ ट्याक्सीको मिटर जाँच गर्नुका साथै ४ हजार ९ सय ६८ पटक पेट्रोलियम पदार्थ वितरण पम्प जाँच गरेको विभागले जनाएको छ ।

    नापतौलसम्बन्धी उपभोक्ता हकहित संरक्षणका लागि विभागले ९२ पटक एकल अनुगमन तथा ९१ पटक संयुक्त अनुगमन गरेको छ । यस्तै, विभागले उपभोक्ता ठगी गर्ने ३३ कम्पनी तथा ट्याक्सी चालकविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ ।  विभागले जानीजानी आम सेवाग्राही तथा उपभोक्तालाई ठगी गर्ने क्रम बढेकाले कारबाहीस्वरुप उक्त कम्पनी तथा ट्याक्सीविरुद्ध मुद्दा दायर गरेको बताएको छ ।

    विभागका महानिर्देशक दिनानाथ मिश्रले सीमित स्रोतसाधनकाबीच विभागले बजार अनुगमनलाई प्राथमिकता दिएको बताउनुभयो । “कम जनशक्ति र स्रोतसाधनका कारण सबै स्थानमा पुग्न सकेका छैनौँ, विभागले आगामी दिनमा बजार अनुगमनलाई प्राथमिकता राख्छ”, उनले भने । 

    आम उपभोक्ता ठगी गर्ने जोकोहीलाई विभागले कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ । विभागले गत आर्थिक वर्षमा विभिन्न शीर्षकअन्तर्गत ७ करोड १६ लाख ११ हजार ८ सय ५७ राजश्वसमेत सङ्कलन गरेको छ । 


    images
    images

    Logo