काठमाडौं । नेपाल प्रहरीले सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर शृङ्खलाबद्ध ठगी गर्ने सिन्धुपाल्चोक बाह्रबिसेका ३२ वर्षीय सञ्जय तामाङ र सोही स्थानका ३१ वर्षीय विष्णु तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
उनीहरुलाई १५ लाख रुपैयाँ बराबरको अमेरिकी डलर साट्न लागेको अवस्थामा काठमाडौँको टोखा नगरपालिकास्थित युनिक कोलोनीबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पक्राउ परेका उनीहरुले पीडित व्यक्तिलाई पटकपटक फोनमार्फत सम्पर्क गरी अवैध अमेरिकी डलर रहेको र सस्तो दररेटमा साटिदिने प्रलोभनमा पारी सटही गर्ने बहानामा पैसा लिएर उपत्यकाका विभिन्न स्थानमा बोलाई लाखौँ रुपैयाँ लुटपाट गरेको अनुसन्धानमा खुलेको छ ।
पक्राउ उनीहरुलाई ठगी एवं विदेशी विनिमय ऐनअन्तर्गत मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाएको प्रहरीले जनाएको छ ।
मापसे गरी बस चलाउने दुई चालकलाई अभद्र व्यवहारमा मुद्दा दर्ता
यसैबीच ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरी बस चलाउने दुई चालकलाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मापसे सेवन गरी सवारी साधन चलाएका दुई चालकलाई कारबाही गर्न खोज्दा ट्राफिक प्रहरीमाथि नै अभद्र व्यवहार गरेकाले पक्राउ गरी मुद्दा चलाएको हो ।
मुद्दा चलाएका चालकमा बा ३ ख ४३८३ नम्बरको भाडा बसका चालक धादिङ बेनीघाट रोराङ गाउँपालिका घर भई हाल काठमाडौँको टोखा बस्दै आएका सरोज श्रेष्ठ र बा२ज ५६१५ नम्बरका ट्याक्सी चालक काभ्रेपलाञ्चोक धुलिखेलका अनिल धिताल रहेका छन् ।
कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक प्रहरीले चलाएको रात्रिकालीन चेकजाँचका क्रममा मापसे सेवन गरी ट्राफिक प्रहरीमाथि नै अभद्र व्यवहार गरेकाले मुद्दा चलाइएको जानकारी दिए ।
मुद्दा चलाएका श्रेष्ठलाई प्रहरी वृत्त कीर्तिपुरले अभद्र मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान गर्नुका साथै धिताललाई प्रहरी वृत्त जगातीले अभद्र मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता भट्टले बताउनुभयो ।
चालकले मापसे गरेर सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम बढेको र सम्भावित दुर्घटनालाई रोक्नका लागि ट्राफिक चेकजाँचलाई तीव्रता दिएको सो कार्यालयले जनाएको छ ।



