काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले चीनबाट २६ करोड फिर्ता पाएको छ । बैंकले मेलम्ची आयोजना निर्माणका लागि दिएको सो रकम फिर्ता पाएको हो । मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले बैंक अफ काठमाण्डूलाई काउन्टर ग्यारेन्टी दिएको थियो ।
उक्त ग्यारेन्टी बापतको रकम अमेरिकन डलरबाट ६६ लाख २५ हजार १० र युरो डलर १४ लाख ११ हजार ४ सय ५३ रकम भदौ ७ गते फिर्ता पाएको हो ।
मेलम्ची खानेपानी आयोजना बिकास समिति र ठेकेदार कम्पनी चाइना रेलवे समुह–१५ बिचको भएको बिवादको कारण उक्त बैंक ग्यारेण्टी भुक्तानी रोक्न चाइनिज अदालतमा परेको मुद्दाबाट अन्तरिम आदेश जारी भई चाइना कन्सट्रक्शन बैंकबाट पाउनु पर्ने भनि चीनको हेनान प्रान्तस्थित पिपुल्स् इन्टरमिडिएट कोर्ट तथा हेनान पिपुल्स् उच्च अदालतमा चलेको मुद्दा परेका थियो ।
भुक्तानी रकम प्राप्त नभएकोले अन्तर्राष्ट्रिय अभ्यास र ग्यारेण्टीको शर्तबन्देजहरुको पालन गरी भुक्तानी गर्न चीनको हेनान प्रान्तस्थित पिपुल्स् इन्टरमिडिएट कोर्ट तथा हेनान पिपुल्स् उच्च अदालतमा चलेको मुद्दा यही सन् २०२२ जुलाई २५ तारिखमा बैंकको पक्षमा फैसला भएको छ । सो फैसला पछि चीनले रकम फिर्ता गरेको छ ।



