images
images

बैंकले कडाइ गर्दा सञ्चय कोषको कर्जा लगानी बढ्दै


  • 498
    SHARES
  • २०७९ भाद्र ६ गते सोमबार

    बैंकले कडाइ गर्दा सञ्चय कोषको कर्जा लगानी बढ्दै

    काठमाडौं । कर्मचारी सञ्चय कोषले सुदूरपश्चिम प्रदेशमा आफ्ना सञ्चयकर्तामा विभिन्न सेवा उपलब्ध गराउनाका  साथै कर्जा लगानी सुलभ रुपमा प्रदान गरिरहेको छ ।कोषले सामाजिक सुरक्षातर्फ प्रसूति तथा शिशु स्याहार, कर्मचारी कल्याण योजना, घर सापटी, जग्गा खरिद सापटीलगायत सुविधा दिनाका साथै सञ्चयकर्ताको व्यक्तिगत ‘केवाइसी’ विवरण अद्यावधिक गरिरहेको छ ।

    सञ्चय कोष शाखा कार्यालयका प्रमुख धु्रव तिवारीले आर्थिक वर्ष २०७८/७९ मा १ हजार ३ सय ७९  सञ्चयकर्तालाई ४३ करोड ९० लाख ८८ हजार ४ सय ९६ रुपैयाँ विशेष सापटी प्रदान गरिएको बताए । 

    त्यसैगरी २ हजार ४ सय २१ जनालाई अवकाश पछिको भुक्तानी रकमस्वरुप ५४ करोड ५६ लाख रुपैयाँ प्रदान गरिएको उनको भनाइ थियो ।“बैंकहरुले तरलता देखाउँदै ऋण लगानीमा कडाइ गर्नाका साथै केही समय स्थगन गरेकाले सञ्चयकोषबाट कर्जा लिनेको सङ्ख्या  बढ्दै गएको छ ।” प्रमुख तिवारीले भने, “सञ्चयकर्ताको सुविधाका लागि विभिन्न योजना पनि कोषले ल्याउने गरेको छ ।”

    धितोमा आधारित कर्जा प्रवाहका लागि दायरा विस्तार कार्यक्रमअन्तर्गत कञ्चनपुर र कैलालीका विभिन्न स्थानको स्थलगत अध्ययन गरी स्वीकृतिको लागि सञ्चयकर्ता कर्जा विभागमा प्रतिवेदन पठाइएको उनले जानकारी दिए।

    सुदूरपश्चिममा २०६१ सालमा कोषको शाखा कार्यालय सञ्चालनमा आएयता यहाँका कर्मचारीले कोषको कामका लागि काठमाडौँ धाउनुपर्ने बाध्यतासमेत हटेको छ । त्यसैगरी गत आर्थिक वर्षमा सञ्चयकर्ताको सामाजिक सुरक्षातर्फ प्रसूति तथा शिशु स्याहार खर्चबापत कोषले १ हजार ५ सय ८३ सञ्चयकर्तालाई १ करोड १८ लाख रुपैयाँ भुक्तानी गरिएको छ । 

    कोषले काजकिरिया अनुदान भुक्तानीबापत ५३ सञ्चयकर्ताको हकवालालाई २१ लाख २० हजार रुपैयाँ, दुर्घटना क्षतिपूर्तिबापत २८ सञ्चयकर्ताको हकवालालाई ५६ लाख रुपैयाँ तथा कर्मचारी कल्याण योजनाबापत १३ सञ्चयकर्ताको हकवालालाई १९ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको छ । त्यसैगरी गत आर्थिक वर्षमा घर सापटीतर्फ १ सय ८९ सञ्चयकर्तालाई ४३ करोड ६६ लाख रुपैयाँ, घरमर्मत सापटीतर्फ ४३ सञ्चयकर्तालाई रु सात करोड त्रिपन्न  लाख, शैक्षिक सापटीतर्फ १ जनालाई ९ लाख ६९ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।

    जग्गा खरिद सापटीतर्फ १५सञ्चयकर्तालाई २ करोड रुपैयाँ प्रवाह गरिएको छ । “ धितोमा आधारित कर्जा लिने ऋणीबाट साँवा ब्याज गरी १८ करोड ४१ लाख ८३ हजार रुपैयाँ असूल भएको छ ।” शाखा प्रमुख तिवारीले भने,“केवाइसी अद्यावधिकको काम पनि चलिरहेको छ ।”गत वर्ष मात्रै ४ हजार ६ सय उनासी सञ्चयकर्ताको व्यक्तिगत केवाइसी विवरण अद्यावधिक गरिएको कोषले जनाएको छ ।

    केवाइसी विवरण अद्यावधिक गर्न शाखाबाट कञ्चनपुर, कैलाली र  डोटीका विभिन्न कार्यालयमा कर्मचारी खटाइएको थियो । यस अवधिमा शाखा कार्यालयले कोषबाट प्रदान हुने सेवा सुविधा तथा केवाइसी सम्बन्धमा दार्चुला, बझाङ तथा कञ्चनपुर जिल्लामा ४ पटक अन्तक्र्रिया गरेको थियो ।


    images
    images

    Logo