images
images

भक्तपुरमा लाग्याे चुनाव : केन्द्र र प्रदेशमा को को छन् उम्मेदवारको आकांक्षी ? 


  • 409
    SHARES
  • २०७९ भाद्र ३ गते शुक्रबार

    भक्तपुरमा लाग्याे  चुनाव : केन्द्र र प्रदेशमा को को छन् उम्मेदवारको आकांक्षी ? 

    काठमाडौं । सरकारले मंसिर ४ गतेका लागि निर्वाचनको मिति तोकेसँगै केन्द्रदेखि स्थानीय तहसम्मै चुनावी रौनक सुरु भएको छ । नेताहरुले टिकटका लागि तयारी गर्दैगर्दा कार्यकर्तामा आफ्ना नेतालाई जिताउन अभियास समेत सुरु भइसकेको छ । 
     
    भक्तपुरमा समेत आसन्न निर्वाचनलाई लिएर राजनीतिक दलहरुले चुनावी गतिविधिलाई तीव्र बनाएका छन् । बिहीबार मात्रै सत्तारुढ दल नेपाली काँग्रेसले चुनावी अभियान प्रारम्भ भएको घोषणा गर्यो । प्रमुख प्रतिपक्षी एमालेले पनि आफ्नो सक्रियतालाई तीव्र बनाउँदै गर्दा नेपाल मजदूर किसान पार्टी आन्तरिक रुपमा उम्मेदवार छनौटको तयारी गर्दैछ ।

    यस्तो अवस्थामा भक्तपुरमा आगामी चुनावमा कुन पार्टीबाट कसले टिकट पाउला र कसले जित्ला भन्ने चासो सबैमा देखिन्छ । यसै सन्दर्भमा हामीले जिल्लामा नेता एवं राजनीतिक विश्लेषकसँगको कुराकानीलाई आधार बनाएर दलहरुबाटको सम्भावित अवस्थाको बारेमा उल्लेख गर्ने प्रयास गरेका छौं । 

    प्रतिनिधिसभा क्षेत्र नं १

    यो क्षेत्र अन्तर्गत भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका क्षेत्र पर्दछ । यो क्षेत्रमा विगतदेखि नै नेपाल मजदूर किसान पार्टीको एकल वर्चश्व रहेको छ । अहिले पनि यो क्षेत्रमा सोही पार्टीका उम्मेदवारले जित्ने निश्चितजस्तै देखिन्छ । एमाले, काँग्रेस लगायत दलहरुले गरेका आन्तरिक सर्भेक्षणमा समेत यस्तै रिपोर्ट प्रस्तुत गरिएको छ । 

    यस्तो अवस्थामा नेमकिपाले कसलाई उम्मेदवार बनाउँछ भन्ने मुख्य चासोको विषय हो । तर, सो पार्टीले सार्वजनिक रुपमा उम्मेदवारको आकांक्षा राख्न समेत कार्यकर्ताहरुलाई बन्देज गरेकोले आकांक्षीहरु को को छन् भन्नसक्ने अवस्था समेत छैन । तर, स्थानीय चुनावमा सुनिल प्रजापति दोहोरिएकोले प्रतिनिधिसभा समेत प्रेम सुवाल दोहोरिनसक्ने आँकलन गरिन्छ । 

    यो क्षेत्रमा नेमकिपाको उम्मेदवारको प्रतिस्पर्धामा बाबुराजा जोशी, विनोद कायस्थ, दयामान कर्मचार्य लगायतलाई सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ । 

    प्रतिनिधिसभा क्षेत्र नं २

    भक्तपुरका लागि प्रतिनिधिसभा निर्वाचनको सबैभन्दा रोचक क्षेत्र यही नै हो । यो क्षेत्रबाट हेभीवेट नेताहरु प्रतिस्पर्धा हुने सम्भावना भएकोले राष्ट्रिय रुपमै यो क्षेत्रलाई विशेष चासोका साथ हेरिएको छ । स्थानीय निर्वाचनको परिणामले पनि प्रतिस्पर्धालाई थप रोचक बनाउन सक्ने देखिन्छ ।

    यो क्षेत्र अन्तर्गत भक्तपुरको मध्यपुर थिमि र सुर्यविनायक नगरपालिका पर्छन् । स्थानीय तह निर्वाचनमा मध्यपुर थिमिमा काँग्रेस गठबन्धनका उम्मेदवारले मेयर र उपमेयर दुवै जित्दा सूर्यविनायकमा एमाले उम्मेदवारले दुवै पद जितेका छन् । 

    यो क्षेत्रबाट एमालेका अध्यक्ष केपी शर्मा ओलीसमेत उठ्नसक्ने चर्चा छ । गृहनगर दमकमा निर्वाचन अलाइन्स आफू अनुकुल नभए ओलीले यो क्षेत्र रोज्नसक्ने आकलन गरिएको हो । तर, अहिलेकै अवस्थामा यो सम्भावना कम रहेको एमालेकै नेताहरुको भनाइ छ । ओली नउठेको अवस्थाका यो क्षेत्रमा एमालेबाट महेश बस्नेत नै उम्मेदवार बन्ने प्रबल सम्भावना छ । 

    उता नेपाली काँग्रेसबाट उक्त क्षेत्रमा दुर्लभ थापा उम्मेदवार बन्ने बलियो सम्भावना छ । थापा काँग्रेस भक्तपुरका वर्तमान जिल्ला सभापति हुन् । देउवासँग निकट सम्बन्ध भएका उनी पार्टीको प्रदेशदेखि केन्द्रसम्म प्रभावशाली मानिन्छन् । यो क्षेत्रमा काँग्रेसबाट केन्द्रीय सदस्य समेत रहेका मदनकृष्ण श्रेष्ठले समेत आकांक्षा देखाएका छन् । तर, थापा नै बलियो सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ । 

    उता माओवादी केन्द्रबाट वाईसीएलका पूर्व अध्यक्ष समेत रहेका रामप्रसाद सापकोटा (दिपशिखा) ले समेत यो क्षेत्रबाट उठ्ने आकांक्षा देखाएका छन् । 

    प्रदेशसभा क्षेत्र नं २ (क)

    यो मध्यपुर थिमि नगर क्षेत्रमा पर्ने निर्वाचन क्षेत्र हो । स्थानीय तह निर्वाचनमा काँग्रेसको पल्लाभारी भएको यो क्षेत्रबाट महेश श्रेष्ठ, सन्तोष भट्टराई, अष्ट कवे लगायत मुख्य आकांक्षीको रुपमा रहेका छन् । यीमध्ये श्रेष्ठ पार्टीका पूर्व जिल्ला सभापति हुन् । उनी केन्द्रमा कृष्ण सिटौला निकट नेता मानिन्छन् । 

    त्यस्तै, सन्तोष भट्टराईलाई पनि अर्को सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ । उनी शेखर कोइराला पक्षका नेताको रुपमा चिनिन्छन् । त्यस्तै, अघिल्लो पटक नगरप्रमुखको उम्मेदवार भएका अष्ट कवे पनि काँग्रेसबाट अर्का सम्भावित उम्मेदवार मानिन्छन् । अघिल्लो पटक मध्यपुर थिमि नगर प्रमुखमा पराजीत भएका उनले यश पटक पनि मेयरमा आकांक्षा राखेका थिए । तर, प्रदेशसभामा सेटल गर्ने आश्वासन दिएर उनलाई पछि हट्न लगाइएकोले उनले समेत टिकट पाउने चर्चा छ । 

    यो क्षेत्रमा एमालेबाट बचन देउजा, मदनसुन्दर श्रेष्ठ, चन्दनकृष्ण श्रेष्ठ लगायतलाई सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ । देउजा एमालेका वर्तमान जिल्ला अध्यक्ष हुन् । मदनसुन्दर श्रेष्ठ मध्यपुर थिमिका निवर्तमान मेयर हुन् भने चन्दनकृष्ण श्रेष्ठ पनि जिल्लाका प्रभावशाली नेता हुन् । 

    यो क्षेत्रमा एकीकृत समाजवादीबाट राजेन्द्रमान श्रेष्ठलाई समेत उम्मेदवारको प्रबल दाबेदार मानिन्छ । श्रेष्ठ समाजवादीका पोलिटब्युरो सदस्य एवं वर्तमान प्रदेशसभाका सांसद समेत हुन् । 

    प्रदेशसभा क्षेत्र नं २ (ख)

    यो क्षेत्र अन्तर्गत सूर्यविनायक नगरपालिकाका सबै वडाहरु पर्दछन् । स्थानीय तहमा पाँचदलीय गठबन्धनसँग प्रतिस्पर्धा गर्दा समेत एमालेले जितेको यो क्षेत्रमा अहिले एमाले नेताहरुको विशेष आकांक्षा छ । यो क्षेत्रबाट उम्मेदवार बन्न शशिजंग थापा, राजेन्द्र राजचला, किरण थापा लगायतको नाम चर्चमा छ । 

    यसमध्ये थापा वर्तमान सांसद हुन् । राजचला एमालेका पूर्व जिल्ला अध्यक्ष हुन् भने थापा सुर्यबिनायक वडा नम्बर ८ का निवर्तमान वडा अध्यक्ष हुन् । स्थानीय तह निर्वाचनमा मेयरमा आकांक्षी रहेका उनलाई पनि पार्टीले प्रदेशसभामा व्यवस्थापन गर्ने आश्वयासन दिएको बताइन्छ । निर्माण व्यवसायी समेत रहेका उनको सो क्षेत्रमा बलियो पकड रहेको मानिन्छ । 

    यो क्षेत्रमा काँग्रेसबाट विष्णुराज कार्की, उद्दव सिलवाल, कृष्णमुरारी न्यौपाने र राप्रपाबाट कांग्रेस पसेका सुरेन्द्र केसी रहेका छन् । 


    images
    images

    Logo