काठमाडौं । सरकारले पश्चिम सेती र सेती नदी–६ जलविद्युत परियोजनासम्बन्धी श्वेतपत्र जारी गरेको छ । भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डियाले ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको सेती नदी (एसआर) ६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र पाएलगत्तै श्वेतपत्र जारी गरेको हो ।
श्वेतपत्रमा परियोजनाबारे अहिलेसम्म भएका काम, प्रयास र अबको योजनाहरु समेटिएका छन् । प्रस्तावित ७५० मेगावाट जडित क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत परियोजनाको कुल लागत लगभग १३२० मिलियन अमेरिकी डलर अनुमान गरिएको छ भने ४५० मेगावाट क्षमताको सेती नदी–६ जलविद्युत परियोजनाको अनुमानित लागत ८०० मिलियन अमेरिकी डलर अनुमान गरिएको छ ।
यसका साथ पश्चिम सेती निर्माणका लागि लगानीको बोर्डले भारत कम्पनी एनएचपीसी इन्टरप्राइजेज लिमिटेडसँग सम्झौता भएको हो ।



