नेपाल प्रहरीले स्रोत नखुलेको ६९ लाख रुपैयाँ रकमसहित तीन जनालाई पक्राउ गरेको छ ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले स्रोत नखुलेको रकमसहित ४५ वर्षीय माधव श्रेष्ठ, ३३ वर्षीय सुनिलकुमार साह र ३३ वर्षीय अङ्कित गोयन्कालाई पक्राउ गरेको हो ।
कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले गैरकानुनीरूपमा हुण्डीमार्फत वित्तीय कारोबार गर्दै आएका उनीहरुलाई काठमाडौँको घण्टाघर क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए ।
काठमाडौँ महानगरपालिका–२८ घण्टाघरस्थित जामे मार्केट भवनमा सटर भाडामा लिई श्रेष्ठले सञ्चालन गरेको सन्जोग टुर्स एण्ड ट्राभल्स प्रालिमा लुकाइछिपाइ राखेको रकम र हुण्डीको भुक्तानी गर्न आएका अङ्कित गोयन्काका कर्मचारी साह र गोयन्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले गोयन्काले कलङ्कीमा सञ्चालन गरेको आनी इन्टरनेशनलको कार्यालयबाट थप ९ लाख रुपैयाँ बरामद गरेको छ । यस्तै, फास्ट ट्रयाक इन्टरनेशनल प्रालिको नाममा काटिएको सानिमा बैंकको १५ लाख रुपैयाँ बराबरको चेकसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको सूचना अधिकृत कोइरालाले बताए ।



