काठमाडौं । इन्डोनेसियाको स्वतन्त्रता दिवस काठमाडौंमा समेत बनाइएको छ । गणतन्त्र इन्डोनेसियाको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष समेत रहेका नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले झण्डोत्तोलन गरे ।
कार्यक्रममा नेपालमा बसोबास गर्दै आइरहेका इन्डोनेसियन मूलका नागरिक, वाणिज्यदूत कार्यालय तथा आईएमई ग्रुपमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा बोल्दै उनले नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सुमधुर सम्बन्ध रहेको र आगामी दिनमा यसलाई जनस्तरसम्म पु¥याउन आफूले प्रयास गरिरहेको बताए । दुई देशबीचको आपसी व्यापार तथा अनुभव आदानप्रदानले दुवै देशका जनता तथा सरकारले फाइदा लिन सक्ने प्रसस्त सम्भावना रहेकोले यो सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ र मजबुत बनाउनुपर्ने उनको भनाइ थियो ।
नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सन् १९६० मा औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको हो । नेपालका लागि इन्डोनेसियाको गैह्र आवासीय राजदूतको कार्यालय बंगलादेशको राजधानी ढाकामा रहेको छ । इन्डोनेसिया आसियान राष्ट्रहरुमध्यको सबैभन्दा ठूलो अर्थतन्त्र हो । नेपाल र इन्डोनेसियाबीचको व्यापारको परिमाण पनि ठूलो रहेको छ । दुई देशबीच पर्यटनलगायत व्यापार व्यवसायका क्षेत्रमा थुप्रै सम्भावनाहरु रहेका छन् ।



