काठमाडौं । नेपाल टेलिकमको नाफा १७.५४ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्ष २०७८र७९ को असार मसान्तसम्ममा कम्पनीले ८ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको छ। यो गत वर्षको तुलनामा १७.५४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यस्तो रकम ७ अर्ब १२ करोड रुपैयाँ रहेको थियो ।
यो अवधिमा कम्पनीले सञ्चालन आम्दानी बापत ३७ अर्ब ८८ करोड रुपैयाँ कमाएको छ अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी ३५ अर्ब ९३ करोड रुपैयाँ थियो । त्यस्तै, सञ्चालन आम्दानी र अन्य आम्दानी समेत गरी टेलिकमले ४४ अर्ब ३२ करोड आम्दानी गरेको छ । यस्तो आम्दानी गत वर्षको तुलनामा ५ प्रतिशतले वृद्धि भएको छ ।
असार मसान्तसम्ममा टेलिकमको चुक्ता पूँजी १८ अर्ब रहेको छ भने जगेडा कोषमा ७७ अर्ब ६ करोड ३२ लाख रुपैयाँ रहेको छ । सोही समयमा कम्पनीको प्रतिशेयर आम्दानी भने केही घटेको छ। टेलिकमको प्रतिशेयर आम्दानी ९७ पैसा घटेर ४६ रुपैयाँ ५६ पैसामा कायम भएको छ । त्यस्तै,कम्पनीको प्रतिशेयर नेटवर्थ ५ सय २८ रुपैयाँ १३ पैसा रहेको छ ।



