काठमाडौं । जीवन बीमा कम्पनीहरुले असार महिनामा बीमाशुल्क संकलन १९ अर्ब रूपैयाँले बढाएका छन् । बीमा समितिले सार्वजनिक गरेको विवरण अनुसार हाल संचालनमा रहेका १९ कम्पनीले जेठ मसान्तसम्ममा बीमाशुल्क संकलन सो रकम बराबरको बढाएका हुन् ।
जीवन बीमा कम्पनीहरुले असार मसान्तसम्ममा १ खर्ब ३८ अर्ब ६४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । गत महिना यस्तो रकम १ खर्ब १९ अर्ब रुपैयाँ रहेको थियो । कम्पनीहरुले असार मसान्तसम्ममा प्रथम बीमा शुल्कबाट ४१ अर्ब ४४ करोड ७० लाख रुपैयाँ आर्जन गरेका छन् ।
असार महिनामा मात्रै यी कम्पनीहरुले १७ अर्ब ६७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । तथ्याङकअनुसार यस अवधिसम्ममा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ ।
नेपाल लाइफले जेठ मसान्तसम्ममा कुल ३५ अर्ब ३८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कमध्ये सबैभन्दा धेरै हो । दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) रहेको छ । सो कम्पनीले यस अवधिसम्ममा १८ अर्ब २२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
यस्तै, सबैभन्दा कम बीमाशुल्क संकलन गर्ने कम्पनीमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । यस कम्पनीले १ अर्ब ५८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।



