काठमाडौं । बैंकहरुको निक्षेप एकैदिन १० अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार साउन २५ गते सो बराबरको निक्षेप बैंकहरुबाट बाहिरिएको हो ।
राष्ट्र बैंकका अनुसार असार २४ गते ५० खर्ब २७ अर्ब रुपैयाँ रहेको निक्षेप साउन २५ गते एकैदिन १० अर्ब रुपैयाँले घटेर ५० खर्ब १७ अर्ब रुपैयाँमा झरेको छ । त्यस्तै, वाणिज्य बैंकहरुको निक्षेप पनि एकैदिन ९ अर्ब रुपैयाँले घटेको छ । साउन २४ गते ४४ खर्ब २८ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकको निक्षेप साउन २५ गते ९ अर्ब रुपैयाँले घटेर ४४ खर्ब १९ अर्ब रुपैयाँमा झरेको छ ।
सोही समयमा अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप पनि २ अर्ब रुपैयाँले घटेको छ । साउन २४ गते ६ खर्ब रुपैयाँ रहेको निक्षेप २५ गते हुँदा २ अर्ब रुपैयाँले घटेर ५ खर्ब ९८अर्ब रुपैयाँमा झरेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, असार २५ गते बैंकहरुको कर्जा लगानी भने २ अर्ब रुपैयाँले बढेर ४६ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरि वाणिज्य बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ६८ अर्ब रुपैयाँमा पुगेको छ । भने सोही समयमा अन्य बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने १ अर्ब रुपैयाँले घटेर ५ खर्ब २७ अर्ब रुपैयाँमा झरेको छ ।
साउन २५ गते बैंकहरुको सीडी रेसियो पनि बढेको छ । साउन २४ गते ८८.०५ प्रतिशत रहेको सीडी रेसियो २५ गते ८८.२५ प्रतिशतमा पुगेको छ । त्यस्तै सोही समयमा बैंकहरुको अन्तरबैंक व्याजदर ८.५१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।



