काठमाडौं । बैंकहरुको वितरणयोग्य नाफामा अघिल्लो वर्षमै कमाएर नबाँडिएको नाफा समेत जोडिएको हुन्छ । यस्तो नाफाले शेयरधनीको लाभांश धेरै देखाए पनि यसले वित्तीय संस्थाको तत्कालको अवस्थालाई भने देखाउन सक्दैन ।
आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणमा अधिकांश बैंकहरुले वितरणयोग्य रकम भनेर अघिल्लो आर्थिक वर्षको रकम समेत जोडेर देखाएका छन् । केही बैंकहरुले भने यस्तो रकमलाई वासलातमा मात्रै देखाएर वितरणयोग्य नाफाका एक वर्षको नाफालाई मात्रै देखाएका छन् ।
वितरणयोग्य नाफा देखाउने बैंकहरुको फरक फरक शैलीका कारण बैंकहरुले गरेको वास्तविक फर्फमेन्सको तुलना गर्न विश्लेषक तथा शेयरधनीहरुमा ‘कन्फ्युजन’ हुने गरेको छ । मर्जरमा गएका बैंकहरुको सन्दर्भमा यस्तो अन्यौलता झनै धेरै देखिन्छ ।
यहाँ हामीले सञ्चालनमा रहेका वाणिज्य बैंकहरुको नाफा, सञ्चित वितरणयोग्य नाफा र वार्षिक वितरणयोग्य नाफालाई छुट्टाछुट्टै रुपमा प्रस्तुत गरेका छौं । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्दा गाभिएको बैंकको नाफालाई खुद नाफामा नदेखाएको कारणले यसको वास्तविक नाफा र यो वार्षिक वितरणयोग्य नाफा तालिकामा उल्लेख गरिएकोभन्दा बढी हुनसक्ने देखिन्छ ।




