काठमाडौं । हिमालयन बैंकको नाफा १७.२२ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७८/७९ को चौथो वित्तीय विवरण अनुसार बैंकले असार मसान्तसम्ममा २ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको तुलनामा १७.२२ प्रतिशत कम हो। गत वर्ष यस्तो रकम २ अर्ब ९९ करोड रहेको थियो ।
बैंकको असारमसान्तसम्ममा खुद ब्याज आम्दानी ३५.२५ प्रतिशत बढेर ५ अर्ब १२ करोड पुगेको छ । त्यस्तै, कुल सञ्चालन आम्दानी ८.२८ प्रतिशत घटेको भने सञ्चालन मुनाफा १७.८१ प्रतिशतले घटेर ३ अर्ब ५४ करोड रुपैयाँमा झरेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ६६ करोड १५ लाख रुपैयाँ रहेको छ।
चौथो त्रैमाससम्मको विवरण अनुसार बैंकको जगेडा कोषको रकम ३.२३ प्रतिशतले घटेर ९ अर्ब १४ करोड रुपैयाँमा झरेको छ । बैंकको निक्षेप १९.४३ प्रतिशतले बढेर १ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी १७.४१ प्रतिशत बढेर १ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ १४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ७० रुपैयाँ ५० पैसा रहेको छ। नाफा घटेसँगै बैंकले यो वर्ष कमाएको रकमबाट शेयरधनीलाई बाँड्न मिल्ने रकम समेत घटेको छ । यो वर्षको नाफाबाट शेयरधनीलाई २ अर्ब ४७ करोड रुपैयाँ वितरण गर्न योग्य रकम रहेकोमा अघिल्लो वर्षको झण्डै १९ करोड नाफा समेत गरी २अर्व वितरणयोग्य नाफा रहेको छ । यो प्रतिशेयर २० रुपैयाँ हाराहारीमा हो ।
हिमालयन बैंक अहिले सिभिल बैंकसँगको मर्जरको क्रममा रहेको छ । मर्जरपछिको एकीकृत विवरणमा भने यो क्षमता फरक पर्न सक्नेछ ।



