काठमाडौं । तरलता संकटका कारण नियमित दायित्व व्यहोर्न असफल भएर सहकारी सञ्चालकहरु भाग्न थालेपछि राष्ट्रिय सहकारी महासंघहरुले सबै सहकारीहरुलाई सतर्क बन्न आह्वान गरेको छ । मंगलबार महासंघका अध्यक्ष मीनराज कँडेलले विज्ञप्ती जारी गर्दै सहकारी यस्तो आह्वान गरेको हो ।
महासंघले अहिले सहकारी समस्याको मुख्य कारण तरलताको संकट भएको बताउँदै पर्याप्त तरलता कायम गर्न सहकारी संस्थाहरुलाई आग्रह गरेको छ । त्यसका लागि सामान्य अवस्थामा भन्दा बढी नगद मौज्दात (तरलता) कायम गर्न, ऋण असुलीमा शतर्क रहन तथा सहकारीले गर्ने अन्य लगानीका क्षेत्रमा समेत सोचेर मात्रै लगानी गर्न आग्रह गरेको छ ।
सहकारी संस्थाहरुले सूचीकृत शेयरमा लगानी गर्न नपाउने विद्यमान प्रावधानका कारण सहकारी संस्थाहरु जग्गाको कारोबारमा बढी केन्द्रित हुने गरेका छन् । यस्तो लगानी तत्काल नगदमा परिणत गर्न नसक्ने भएकोले सामान्य अवस्थामा भन्दा बढी बचत फिर्ता हुने अवस्थामा सहकारीहरु अनिवार्य दायित्व भुक्तानी गर्न समेत असमर्थ हुने अवस्था आउने गरेको छ । सोही कारण केही दिनअघि काठमाडौंको कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको गौतमश्री बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरु फरार भएका थिए । महासंघको विज्ञप्तीमा घरजग्गा क्षेत्रलाई तोकेरै यसमा लगानी नगर्न आग्रह गरिएको छ ।
त्यस्तै, महासंघले सहकारी संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई व्यवस्थित बनाउन, सहकारी क्षेत्रका विज्ञ एवं आफू आवद्ध रहेको सहकारी संघ तथा महासंघसँग निरन्तर परामर्श गर्न समेत आग्रह गरेको छ । साथै महासंघले सहकारीसँग कारोबार गर्ने सदस्यलाई समेत ब्याजको लोभमा नपरी संस्थागत क्षमता र सुशासन राम्रो भएका सहकारी संस्थासँग कारोबार गर्न समेत आग्रह गरेको छ ।



