images
images

विद्युत् आपूर्ति नहुँदा ८ दिनदेखि उदयपुर सिमेन्ट बन्द, ५ करोड बढी नोक्सान


  • 518
    SHARES
  • २०७९ आषाढ २३ गते बिहीबार

    विद्युत् आपूर्ति नहुँदा ८ दिनदेखि उदयपुर सिमेन्ट बन्द, ५ करोड बढी नोक्सान

    काठमाडौं । उदयपुर समेन्टको उत्पादन ८ दिनदेखि रोकिएको छ । विद्युत् आपूर्ति नहुँदा सिमेन्ट उत्पादन ठप्प हुन पुगेको हो । 

    नेपाल विद्युत् प्राधिकरणको लहान सवस्टेशनको ट्रान्फर्मर पड्किएपछि सो सबस्टेशनबाट हुँदै आएको विद्युत् आपूर्ति रोकिएको छ । असार १५ गते सो समस्या आएपछि उदयपुर लगायत पूर्वी क्षेत्रमा २ दिनसम्म विद्युत् आपूर्ति ठप्प भयो ।

    ट्रान्सफर्मर फेर्नुपर्ने र त्यसका लागि समय लाग्ने भएपछि प्राधिकरणले सो क्षेत्रमा सोलु फिडरमार्फत् विद्युत् आपूर्ति गर्यो । तर, सो फिडरबाट प्रवाह हुने विद्युत् आपूर्तिले उत्पादन हुन नसक्ने भएपछि उद्योग बन्द गर्नुपरेको उधाेगका प्रवक्ता लक्ष्मण पोखरेलको भनाइ छ ।

    उदयपुर सिमेन्टले दैनिक ६० देखि ७० लाख रुपैयाँको सिमेन्ट  बिक्री गर्दै आएको छ । ८ दिनदेखि उत्पादन ठप्प हुँदा सिमेन्टको बिक्री समेत रोकिने अवस्था आएको प्रवक्ता पोखरेल बताउँछन् । यसो हुँदा झण्डै ५ करोड रुपैयाँ बराबरको बिक्री प्रभावित भएको उनको भनाइ छ । 

    विद्युत् प्राधिकरणले भने सोलु फिडरबाट उद्योगलाई २ मेगावाट बिजुली उपलब्ध गराइरहेको जनाएको छ । ‘लहान सबस्टेसनमा समस्या आएपछि सोलुबाट विद्युत् आपूर्ति गरिएको हो । ग्राहस्र्थ प्रयोगकर्तालाई अहिले कुनै समस्या छैन, ठूला उद्योगलाई भने दिन सकिएको छैन,’ प्राधिकरण प्रदेश १ प्रादेशिक कार्यालयका निर्देशक राजन ढकाल भन्छन्, ‘ लहान सबस्टेशनका लागि हामीले नेपालगञ्ज र हेटौंडाबाट ट्राज्सफर्मर मगाइसकेका छौं, अब २ दिनमा बनाउनेगरी प्रयत्न गरिरहेका छौं । उहाँहरुले अहिले २ मेगावाट बिजुली लिइरहनुभएको छ ।’

    उदयपुर सिमेन्टले भने खानीदेखि उद्योगसम्म सञ्चालन गर्नुपर्ने अहिले उपलब्ध बिजुलीले उद्योग चल्न नसकेको जनाएको छ । ‘उद्योग मात्रै चलाउनलाई त २ मेगावाटले पुग्थ्यो । तर, खानीबाट चुनढुंगा उत्खनन् गर्ने, ल्याउने काम गर्न पुग्दैन त्यसैले अहिले उद्योग बन्द गरिएको छ,’ प्रवक्ता पोखरेलले भने । 

    अहिले सिमेन्टले विद्युत् प्राधिकरणकै विराटनगर कार्यालयलाई पोल बनाउन सिमेन्टको आपूर्ति गर्दै आएको छ । त्यस्तै सीजी हाउजिङ लगायत निजी क्षेत्रबाट पनि सिमेन्टको नियमित माग भइरहेको छ ।


    images
    images

    Logo