काठमाडौं । देशमा कोभिड–१९ को महामारी बढ्दै गएपछि केन्द्रीयस्तरदेखि स्थानीय तहसम्म सहयोग गर्ने हातहरू दिनप्रतिदिन बढ्दै गएका छन् । बतास फाउन्डेशनले पनि राज्यलाई नागरिकको ज्यान बचाउन धौ धौ परेका बेला ‘१०० रुपैयाँ दान गरौं, महामारीमा प्राण राखौं’ भन्ने मूल नारा बोकेर गण्डकी अस्पतालमा ३ वटा अक्सिजनको प्लान्ट जडान गर्न लागेको हो ।
मानिसको ज्यान बचाउनका लागि सबैभन्दा महत्वपूर्ण वस्तु अक्सिजन भएकाले यसको उत्पादनलाई प्राथमिकतामा राखेर यो अभियान शुरु गरेको अर्गनाइजेशनका अध्यक्ष बतासले जानकारी दिए । ‘मैले यो अभियान शुरु गरौं भन्ने वित्तिकै ११/१२ जना साथीहरूले पुन्य काम गरौं भनेर साथ दिनु भयो, उनले भने ‘अहिले सो सहयोग कोषमा ३ करोड ३८ लाख रुपैयाँको प्रतिवद्धता भइसकेको छ भने ९१ लाख रुपैयाँ बैंकमै जम्मा भएको छ ।’ केही दिनअघिदेखि ५३ लाख रुपैयाँ सिड मनी राखेर बतास फाउन्डेशनले यो अभियान शुरु गरेको हो ।
यो अभियानमा जति धेरै पैसा संकलन हुन्छ त्यति नै काम गर्ने उनले बताए । स्रोतले भ्याएमा गण्डकी अस्पतालमै आईसीयू पनि जाडन गर्ने योजना भएको उनले सुनाए । ‘बढी पैसा संकलन गर्न भएमा हामी तनहुँ स्याङजालगायत देशका अन्य अस्पतालमा समेत यस्तै पूर्वाधार तयार पार्नेछौं,’ उनले भने ।
अहिले २ सय जना मानिसबाटमात्रै सहयोग आएको छ । नेपालभर तीन करोड मान्छे छन् । ती सबैले एक सय रुपैयाँमात्रै सहयोग गरेपनि ३ अर्ब सहयोग जुट्ने र सो सहयोगबाट ठूला राम्रा मानव हितका लागि काम गर्न सकिने उनले बताए । फाउन्डेशनले उक्त प्लान्ट फ्रान्सबाट ल्याउँदैछ । बढीमा अबको १ महिनासम्म उक्त अस्पतालमा प्लान्ट जडान गर्ने गरी आजै सिद्धार्थ बैंकमा १ करोड रुपैयाँको पतितपत्र (एलसी) पनि खोलेको छ ।
‘अक्सिजन प्लान निर्माण गर्न चीनले १ महिनाको समय मागेपछि फ्रान्सबाट उक्त चीनको भन्दा गुणस्तरीय प्लान्ट ल्याउन लागिएको हो,’ उनले भने ‘फ्रान्सेली कम्पनीले अक्सिजन प्लान्ट बनाउन २ साता समय मागेको छ । उक्त प्लान्ट आउने वित्तिकै हामी गण्डकी अस्पतालमा जडान गरिहाल्छौं ।’ फ्रान्सबाट ३ वटा अक्सिजन प्लान्ट ल्याउन लागिएको हो । प्लान्ट जडान गरे कै दिनदेखि एउटा प्लान्टबाट ५० वटा जम्बो सिलिण्डर (४८ केजी) भरिने अक्सिजन उत्पादन हुन्छ । तीनवटा प्लान्टबाट दैनिक १५० सिलिण्डर ग्यास उत्पादन गर्ने गरी प्लान्ट जडान गर्न लागिएको हो ।
‘एउटै ल्याउँदा जहाजमा नअट्ने समस्या त छँदैनै थियो, त्यसमा पनि एउटामा कुनै समस्या आयो भने उत्पादन नै बन्द हुने भएकाले पनि छुट्टा छुट्टै प्लान्ट ल्याउन साथीहरूले सल्लाह दिनु भयो र सोही अनुरुप योजना अघि बढाएको हुँ । एउटा प्लान्ट बिग्रियो भने पनि अर्को प्लान्टबाट उत्पादन भइरहने सल्लाह पाएपछि तीन वटा प्लान्ट ल्याउने निर्णय गरेका हौं । ‘फ्रान्ससँग ६८ हजार अमेरिकी डलरका दरले तीनवटा प्लान्ट खरिद गने प्रक्रिया अघि बढिसक्यो,’ उनले भने ।
प्लान्ट ल्याउनका लागि नेपाल सरकारसँग छलफल भइसकेको अध्यक्ष बतासले बताए । चार्टड गरेर उक्त अक्सिजन प्लान्ट ल्याउने तयारी गरिएको हो । यसका साथै विभिन्न सामाजिक कार्यका हात बढाउँदै आएको बतास फाउन्डेशनले आफ्नो स्थापना (सन् २००८) यता करिब ८० करोड रुपैयाँको यस्तै मानवहित कार्यमा खर्च गरिसकेको छ ।



