images
images

बाढी–पहिरोले देशभरका राजमार्ग प्रभावित, विभिन्न सडकखण्डमा यातायात अवरुद्ध


  • 140
    SHARES
  • २०८३ श्रावण २३ गते शनिबार

    बाढी–पहिरोले देशभरका राजमार्ग प्रभावित, विभिन्न सडकखण्डमा यातायात अवरुद्ध

    काठमाडौं । बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले शनिबार बिहान ८ः३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै केही सडकखण्ड पूर्ण रूपमा बन्द रहेको र केहीमा एकतर्फी यातायात सञ्चालन भइरहेको जनाएको छ।

    काठमाडौंको नागार्जुन नगरपालिका–८ स्थित ठूलो खोलामा पहिरो खसेपछि सितापाइला–धार्के सडकखण्डमा एकतर्फी रूपमा मात्रै सवारीसाधन सञ्चालन भइरहेका छन्।

    कोशी प्रदेशमा भोजपुरको बोखिममा पहिरोका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा छ। इलामको राजदुवालीमा मेची राजमार्ग तथा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ स्थित निलदोर्जे पर्यटक सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।

    बागमती प्रदेशमा काभ्रेको बिपी राजमार्ग र मकवानपुरको कान्तिलोकपथमा सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। सिन्धुपाल्चोकको चारकिलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

    त्यस्तै, रसुवाको खाल्टेमा आएको बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक अवरुद्ध भएको छ। मकवानपुरको सिमातमा पहिरो खसेपछि कान्तिलोकपथको उक्त सडकखण्ड पनि ठप्प भएको छ।

    गण्डकी प्रदेशमा कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको बेलबगर र नवलपरासी पूर्वको गैँडाकोटमा पहिरो गएपछि सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ। मुस्ताङको केकु खोलामा पहिरो जाँदा बेनी–जोमसोम सडक तथा लमजुङको श्रीचौरमा पहिरोका कारण बेँसीसहर–मनाङ सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्।

    लुम्बिनी प्रदेशमा पाल्पाको गोँडपुलमा पहिरोका कारण सिद्धार्थ राजमार्ग तथा गुल्मीको लेख क्षेत्रमा मदन भण्डारी राजमार्ग एकतर्फी सञ्चालनमा रहेका छन्।

    कर्णाली प्रदेशमा पनि बाढीका कारण सडक यातायात प्रभावित भएको छ। रुकुम पश्चिमको रिजेगार्ड खोलामा आएको बाढीले भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड तथा मुगुको छायाँनाथ रारा क्षेत्रमा आएको बाढीले नाग्म–गमगढी सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार अवरुद्ध सडकमा पहिरो पन्छाउने तथा सडक सञ्चालनमा ल्याउने काम भइरहेको छ। लगातारको वर्षाका कारण थप बाढी तथा पहिरोको जोखिम रहेकाले सडक प्रयोग गर्दा सावधानी अपनाउनसमेत आग्रह गरिएको छ।

    768887570_2444042196119004_7885566387555518910_n


    images
    images

    Logo