images
images

२३ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह


  • 341
    SHARES
  • २०८३ श्रावण २३ गते शनिबार

    २३ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

    काठमाडौं । देशका प्रमुख नदीमा जलसतह सामान्य रहे पनि २३ जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम देखिएको छ। बाढी पूर्वानुमान महाशाखाले शनिबार बिहान जारी गरेको बुलेटिनमार्फत ती क्षेत्रमा मध्यम जोखिम रहेकाले नदी किनार तथा तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो।

    महाशाखाका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली नदी तथा तिनका सहायक नदीमा अहिले बहाव सामान्य अवस्थामा छ। कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा पनि बहाव सतर्कता तहभन्दा तल रहेको छ।

    तर, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकका साना नदीमा बहाव उल्लेख्य रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

    त्यस्तै गोरखा, लमजुङ, बागलुङ, तनहुँ, म्याग्दी, कास्की, सल्यान, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट र बझाङका आसपासका साना नदी तथा खोलामा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार जोखिममा रहेका क्षेत्रमा छोटो समयमा पानीको सतह बढ्न सक्ने भएकाले नदी तथा खोलाको आसपासमा रहेका बस्ती, सडक र अन्य संरचनामा विशेष सावधानी अपनाउन आवश्यक छ।

    यसैबीच, आगामी दुई दिन अर्थात् भोलि र पर्सिसमेत कोशी र गण्डकी प्रदेश भएर बहने केही साना नदीमा बहाव अचानक बढ्न सक्ने सम्भावना रहेको छ। त्यसैले आगामी केही दिन साना नदी तथा खोलाका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

    766183329_1598633661966298_4197502451902822858_n


    images
    images

    Logo