images
images

आइतबारे बिदामा पनि सबै सेवा दिँदै सूर्यविनायक नगर अस्पताल


  • 616
    SHARES
  • २०८३ श्रावण २१ गते बिहीबार

    आइतबारे बिदामा पनि सबै सेवा दिँदै सूर्यविनायक नगर अस्पताल

    भक्तपुर । सरकारले आइतबार सार्वजनिक बिदा लागू गरेपछि अधिकांश सरकारी कार्यालय बन्द रहने भए पनि भक्तपुरको सूर्यविनायक नगर अस्पताल भने नियमित रूपमा सञ्चालन भईरहेको छ । नगरवासीलाई स्वास्थ्य सेवाबाट वञ्चित हुन नदिन अस्पतालले आइतबार पनि सम्पूर्ण सेवा निरन्तर उपलब्ध गराइरहेको हो ।

    सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाका अनुसार स्वास्थ्य सेवा कुनै निश्चित दिनसँग सीमित हुन नसक्ने भएकाले आइतबार पनि अस्पताल सञ्चालन गर्ने निर्णय गरिएको हो । ‘सरकारले आइतबार बिदा थप्यो भन्दैमा नगरबासी बिरामी नपर्ने त होइनन् । हाम्रो लागि नगरबासीको स्वास्थ्यभन्दा ठूलो प्राथमिकता अर्को छैन,’–उनले भने । छोटो समयमै नगर अस्पतालले उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गर्दै उनले ५० शैयाको नगर अस्पताल सञ्चालन गर्ने पहिलो स्थानीय तह बन्न सूर्यविनायक सफल भएको दाबी गरे ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले न्यून शुल्कमा गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनु अस्पतालको सबैभन्दा ठूलो उपलब्धि भएको बताए । उनका अनुसार अस्पतालमा दैनिक औसत ४०० देखि ५०० जना बिरामी ओपिडी सेवाका लागि आउने गरेका छन् ।

    suryabinayak hospital.png

    अस्पतालका कार्यकारी निर्देशक डा. राकेश कुमार बर्माका अनुसार अस्पतालमा अत्याधुनिक उपकरणसहित २४ घण्टा आकस्मिक सेवा, आइसियू, बर्थिङ सेन्टर, एम्बुलेन्स सेवा, फार्मेसी, प्याथोलोजी तथा स्तरीय प्रयोगशाला सेवा सञ्चालनमा छन् । प्रयोगशालामा स्वचालित उपकरणमार्फत परीक्षण सेवा प्रदान भइरहेको उनले जानकारी दिए ।

    उनका अनुसार अस्पतालको सेवा विस्तारलाई अझ प्रभावकारी बनाउन नयाँ ओपिडी अर्को ब्लक निर्माणको अन्तिम चरणमा पुगेको छ । नयाँ भवन सञ्चालनमा आएपछि दन्त उपचार, फिजियोथेरापी, आँखा उपचार लगायतका थप विशेषज्ञ सेवा पनि एउटै परिसरबाट उपलब्ध हुनेछन् ।

    suryabinayak municipality hospital.png

    सूर्यविनायक नगर अस्पतालको अर्को विशेषता भनेको इएचएस कार्यक्रमअन्तर्गत बिहान ६ः३० बजेदेखि १० बजेसम्म विशेषज्ञ चिकित्सकबाट सेवा उपलब्ध गराइनु हो । यस सेवाका लागि बिरामीले कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैन, जुन सुविधा नगर अस्पतालहरूमा दुर्लभ मानिन्छ ।

    स्वास्थ्य सेवाको पहुँच, विशेषज्ञ चिकित्सकको उपलब्धता, अत्याधुनिक उपकरण, चौबीसै घण्टा आकस्मिक सेवा तथा सार्वजनिक बिदाका दिन पनि सेवा निरन्तर सञ्चालन गर्ने व्यवस्थाका कारण सूर्यविनायक नगर अस्पताल अहिले स्थानीय सरकारमार्फत सञ्चालन हुने स्वास्थ्य संस्थामध्ये एक उदाहरणीय अस्पतालका रूपमा स्थापित हुँदै गएको छ ।


    images
    images

    Logo