images
images

वैशाखयता विपद्का ४ हजारभन्दा बढी घटना, १९६ जनाको मृत्यु; सर्पदंश सबैभन्दा घातक


  • 209
    SHARES
  • २०८३ श्रावण १७ गते आइतबार

    वैशाखयता विपद्का ४ हजारभन्दा बढी घटना, १९६ जनाको मृत्यु; सर्पदंश सबैभन्दा घातक

    काठमाडौं । गएको वैशाख १ गतेयता देशभर भएका विभिन्न विपद्का घटनामा परेर १९६ जनाको ज्यान गएको छ भने ४ जना अझै बेपत्ता रहेका छन्।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि आजसम्म ४ हजार ५३ वटा विपद्का घटना दर्ता भएका छन्। ती घटनाबाट ५ हजार १८८ परिवार प्रभावित भएका छन् भने १ हजार २१८ जना घाइते भएका छन्।

    प्राधिकरणका अनुसार यस अवधिमा सर्पदंश सबैभन्दा घातक विपद्का रूपमा देखिएको छ। सर्पदंशका ७१६ वटा घटनामा ५४ जनाले ज्यान गुमाएका छन् भने ६६८ जना घाइते भएका छन्।

    यस्तै, चट्याङ लागेर २५ जनाको मृत्यु भएको छ। लेक लागेर २२ जना, पहिरो र आगलागीबाट २०–२० जना, जंगली जनावरको आक्रमणबाट १८ जना, बाढीबाट १४ जना तथा हावाहुरीका कारण १३ जनाले ज्यान गुमाएका छन्।

    त्यसैगरी अत्यधिक वर्षा, ढुङ्गा पल्टिने, वन डढेलो, हिउँ पहिरो तथा विस्फोटलगायतका अन्य विपद्का घटनाबाट थप ९ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

    यसैबीच, आज बिहान १० बजेसम्मको पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ३४ वटा विपद्का घटना दर्ता भएका छन्। ती घटनामध्ये सर्पदंशबाट १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

    प्राधिकरणले मनसुन सक्रिय रहेकाले बाढी, पहिरो, चट्याङ र सर्पदंशजस्ता विपद्को जोखिम अझै उच्च रहेको भन्दै नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।


    images
    images

    Logo