काठमाडौं । प्रतिष्ठित पत्रिका फोर्ब्सले सन् २०२५ का लागि अर्बपतिहरूको वार्षिक सूची सार्वजनिक गरेको छ । बुधबार प्रकाशित सूचीमा १ अर्ब डलरभन्दा बढी सम्पत्ति भएका २,९३३ जना अर्बपतिहरू समावेश छन् ।
सूची अनुसार, संयुक्त राज्य अमेरिकाका एलन मस्क ३०० अर्ब डलर सम्पत्तिसहित विश्वकै धनी व्यक्ति बनेका छन् । उनी अमेरिकी सरकारी प्रभावकारिता विभाग (डज) का प्रमुख समेत हुन् । त्यस्तै, मेटाका संस्थापक मार्क जुकरबर्ग २१६ अर्ब डलर सम्पत्तिसहित दोस्रो स्थानमा छन् भने अमेजनका संस्थापक जेफ बेजोस २१५ अर्ब डलरसहित तेस्रो स्थानमा रहेका छन् ।
यस सूचीमा १२ जनाको सम्पत्ति १०० अर्ब डलरभन्दा धेरै छ । ती व्यक्तिहरूमा वनार्ड अनर्ड र परिवार, वारेन बफेट, ल्यारी पेज, सर्गेई ब्रिन, अमान्सियो ओर्टेग, स्टीव बाल्मर, रोब वाल्टन र परिवार, जिम वाल्टन र परिवार, बिल गेट्स, माइकल ब्लूमबर्ग र एलेस वाल्टन रहेका छन् ।
यस वर्ष चीनका झाङ यिमिङ ६५.५ अर्ब डलर सम्पत्तिसहित त्यहाँका सबैभन्दा धनी व्यक्ति बनेका छन् । उता, भारतका मुकेश अम्बानी ९२.५ अर्ब डलरसहित शीर्ष स्थानमा छन् ।
नेपालबाट विनोद चौधरी मात्रै यो सूचीमा परेका छन् । फोर्ब्सका अनुसार, उनी २ अर्ब डलर सम्पत्तिसहित १७६३ औं स्थानमा छन् । अघिल्लो वर्ष १.८ अर्ब डलर सम्पत्तिसहित सूचीमा रहेका चौधरीको सम्पत्ति २० करोड डलरले वृद्धि भएको छ ।



