images
images

२० वर्षमा लैङ्गिक अनुपातमा अत्यधिक फरक : ११२ जना छोरा जन्मिँदा १०० जना मात्रै छोरी


  • 550
    SHARES
  • २०८१ चैत्र १३ गते बुधबार

    २० वर्षमा लैङ्गिक अनुपातमा अत्यधिक फरक : ११२ जना छोरा जन्मिँदा १०० जना मात्रै छोरी

    काठमाडौं । पछिल्लो २० वर्षमा शिशु जन्मिँदाको लैङ्गिक अनुपातमा अत्यधिक फरक आएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणना २०७८ बाट प्राप्त नतिजाका आधारमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार छोरीभन्दा छोरा जन्मिने क्रम बढेको हो ।

    २०५८ सालको जनगणना अनुसार शिशु जन्मिँदाको लैङ्गिक अनुपात ९९.८  रहेकोमा २०७८ सालमा ११२ पुगेको कार्यालयले जनाएको छ । तथ्याङ्कले दम्पतीमा छोराको चाहना बढेको देखाउँछ । लैङ्गिक अनुपात बढी हुनुमा लिङ्ग पहिचान गरी गर्भपतन भएको मान्न सकिन्छ । प्रकृतिको नियम अनुसार छोरा र छोरीको अनुपात बढीमा ३ अङ्कले फरक पाइन्छ । त्यसमा पनि छोरीको सङ्ख्या बढी हुन सक्छ । सात प्रदेशमध्ये सबैभन्दा बढी लैंगिक अनुपात मधेशमा ११८ र सुदूरपश्चिममा ११६ रहेको छ ।

    घट्दै जन्मदर

    २००९ सालतिर देखिएको कोरा जन्मदर ४५–५० बाट घटेर २०७८ सालमा प्रति हजार १४.२ पुगेको छ । कोरा जन्मदरले प्रति एक हजार जनसङ्ख्यामा वार्षिक जीवित जन्महरूको सङ्ख्या दर्शाउँछ । यसले स्वास्थ्य सेवामा भएको सुधार, परिवार नियोजन कार्यक्रमको प्रभावकारिता र आर्थिक विकासमा आएको सुधारलाई प्रतिविम्बित गरेको छ । ग्रामीण क्षेत्रको कोरा जन्मदर १५.७ छ भने शहरी क्षेत्रको १३.६ प्रतिशत छ ।

    प्रदेशगत रूपमा यो सूचकको मानमा उल्लेखनीय भिन्नता देखिएको छ । कोरा जन्मदर बागमतीमा सबैभन्दा न्यून (११.५ प्रतिशत) छ भने कर्णालीमा सबैभन्दा उच्च (१८.७ प्रतिशत) छ । नेपालको सामान्य प्रजननदर ५०.२ प्रतिशत रहेको छ । जसले १५–४९ वर्ष उमेर समूहका प्रति एक हजार महिलामा जन्मदरलाई जनाउँछ । सामान्य प्रजननदर कर्णालीमा (६७.९ प्रतिशत) र मधेशमा (६०.४ प्रतिशत) उच्च रहेको छ भने बागमती प्रदेशमा (३९.२ प्रतिशत) सबैभन्दा न्यून रहेको देखिन्छ । यस तथ्याङ्कले शहरीकरण र आर्थिक आयामहरूको प्रभावलाई सङ्केत गरेको छ ।

    तथ्याङ्कले औपचारिक शिक्षा नभएका महिलाहरूको औसत सन्तान सङ्ख्या २.७१ देखाएको छ जबकि स्नातक वा उच्च शिक्षा प्राप्त महिलाहरूको हकमा यो मान केवल ०.१० रहेको छ । धनी परिवारमा कम सन्तान हुने प्रवृत्ति देखिन्छ जसले आयस्तर र प्रजननदरबीचको अन्तरसम्बन्धलाई उजागर गर्छ ।

    उमेर–विशिष्ट प्रजननदर

    उमेर–विशिष्ट प्रजनन प्रवृत्तिहरूले सबै उमेर समूहमा भएको परिवर्तनलाई प्रतिविम्बित गरेका छन् । २०५८ देखि २०७८ सालसम्मको प्रवृत्ति हेर्दा २५–३९ वर्षका महिलाहरूमा प्रजननदरमा विशेष गिरावट आएको छ । किशोरावस्था (१५–१९ वर्ष) को प्रजननदर २०५८ मा प्रति एक हजार महिलामा ७१ थियो जुन २०७८ सालमा घटेर ४७ पुगेको छ । यस्तो गिरावटले शिक्षाको भूमिकालाई उजागर गरेको छ ।  प्रजनन उमेरका खासगरी २०–२४ वर्ष उमेर समूहमा रहेका महिलाहरूमा उच्चतम प्रजननदर देखिए पनि त्यो २०५८ काे प्रति हजार २०३ बाट २०७८ सालसम्ममा घटेर १४९ पुगेको छ ।

    किशोरावस्था (१५–१९) का महिलाहरूको प्रजननदर पनि सोचनीय छ । विशेषगरी मधेश (८.५ जना प्रति हजार महिला) र कर्णाली (७.५ जना प्रति हजार महिला) प्रदेश जहाँ छिटो विवाहलगायत अशिक्षा वा न्यून शैक्षिक स्तरले यस्तो अवस्था सिर्जित भएको देखिन्छ ।

    कुल प्रजननदर

    नेपाल अहिले प्रतिस्थापन स्तरको प्रजननदर २.१ भन्दा पनि तल पुगेको स्थिति छ । सबैभन्दा उच्चतम कुल प्रजननदर मधेश (२.८५) र कर्णालीमा (२.१९) रहेको छ भने बागमती (१.३७) र गण्डकी (१.५४) न्यून प्रजननदर रहेका प्रदेश हुन् । बागमती र गण्डकी प्रदेशमा रहेको न्यून प्रजननदरका पछाडि शहरीकरणका साथसाथै विलम्बित विवाहको भूमिका रहेको छ । शहरीकरण र ढिलो विवाहको प्रवृत्तिले गर्दा काठमाण्डौ जिल्ला र बागमती प्रदेशमा पनि प्रजननदर न्यून रहेको छ ।


    images
    images

    Logo