images
images

स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ४० लाख नाघ्यो


  • 374
    SHARES
  • २०७८ मंसिर १ गते बुधबार

    स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ४० लाख नाघ्यो

    काठमाडौं । सरकारले करको दायरा वृद्धि गर्दै लगेसँगै करदाताको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भएको छ । नेपालमा हालसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ४० लाख नाघेको आन्तरिक राजस्व विभागले जनाएको छ । 

    विभागका अनुसार आर्थिक वर्ष २०७७÷७८ को असार मसान्तसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको सङ्ख्या ४० लाख ४९ हजार १ सय ९ पुगेको छ । व्यक्तिगत करदाता २४ लाख ७१ हजार ७ सय २६ र व्यावसायिक करदाता १५ लाख ७७ हजार ३ सय ८३ छन् । आव २०७७÷७८ मा दुई लाख ४५ हजार ५ सय ६१ व्यावसायिक करदाता र पाँच लाख १७ हजार ३ सय ८३ व्यक्तिगत करदाता थपिएका छन् ।  

    कोरोना महामारीको प्रतिकूलताका बाबजुद पनि राजस्व असुलीमा ९५.३२ प्रतिशत प्रगति भएको विभागले जनाएको छ । आव २०७७÷७८ मा ४ खर्ब २९ अर्ब २० करोड रुपैयाँ राजस्व असुली भएको थियो । यो आव २०७६/७७ को तुलनामा ११.६४ प्रतिशतले बढी हो । आव २०७७÷७८ मा ४ खर्ब ५० अर्ब ३४ करोड राजस्व सङ्कलनको लक्ष्य राखिएको थियो । 

    आव २०७७÷७८ मा मूल्य अभिवृद्धि करतर्फ ३ खर्ब २ अर्ब १६ करोड लक्ष्य निर्धारण गरिएकामा २ खर्ब ८७ अर्ब ६ करोड असुली भएको छ । यस्तै सोही अवधिमा २ खर्ब ७७ करोड रुपैयाँ आयकर र १ खर्ब ३४ अर्ब ९ करोड अन्तःशुल्क सङ्कलन भएको छ । 

    आन्तरिक राजस्व विभाग र अन्तर्गतका कार्यालयको कूल बेरुजु ४९ अर्ब ६१ करोड ४९ लाख १५ हजार रुपैयाँ रहेकामा गत आवमा २८ अर्ब ८६ करोड २६ लाख ९६ हजार रुपैयाँ फछ्र्यौट भएको विभागले जनाएको छ । गत आर्थिक वर्षमा मूल्य अभिवृद्धि करतर्फ ३७ हजार ८ सय ६८ करदाता दर्ता भएको र हालसम्म २ लाख ६८ हजार ४ सय ३६ करदाता मूल्य अभिवृद्धि करमा दर्ता भएको विभागले जनाएको छ । 


    images
    images

    Logo