images
images

मंसिरका लागि बैंक तथा वित्तीय संस्थाले तोके नयाँ ब्याजदर, कहाँ कति पाइन्छ अब ?


  • 722
    SHARES
  • २०७८ कार्तिक ३० गते मंगलबार

    मंसिरका लागि बैंक तथा वित्तीय संस्थाले तोके नयाँ ब्याजदर, कहाँ कति पाइन्छ अब ?

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले मंसिर महिनाका लागि नयाँ ब्याजदर तोकेका छन् । नयाँ महिना सुरु हुनु अगावै सो महिनाका लागि ब्याजदर अनिवार्य रुपमा प्रकाशन गर्नुपर्ने राष्ट्र बैंकको ब्यवस्था अनुसार ती बैंकहरुले ब्याजदर सार्वजनिक गरेका हुन् । 

    नयाँ ब्याजदर अनुसार वाणिज्य बैंकहरुले एक वर्षे मुद्दति निक्षेपमा अधिकतम १०.०५ प्रतिशत ब्याजदर तोकेका छन् । विकास बैंकहरुले १०.२५ प्रतिशत र फाइनान्स कम्पनीहरुले १०.३५ प्रतिशतसम्म ब्याजदर तोकेर नयाँ ब्याजदर तालिका प्रकाशन गरेका छन् ।

    बचत खाताको ब्याजदर भने बैंकहरुबीच केही फरक छ । अधिकांश बैंकले यस्तो ब्याज ५.०५ प्रतिशतदेखि ७.०५ प्रतिशतसम्म तोकेका छन् । यद्यपि केही बैंकले ५.०५ भन्दा कम र केहीले ७.०५ भन्दा बढी ब्याजदर समेत तोकेका छन् । 

    रेमिट्यान्समार्फत् आउने रकमको हकमा बचत तथा मुद्दति दुबै खातामा १ थप प्रतिशत बिन्दुल ब्याज दिने व्यवस्था अनुसार सबैजसो बैंकले यो सुविधा उपयोग गरेका हुन् । आफ्ना एजेन्ट रेमिट्यान्समार्फत् आएका रमिट्यान्सलाई मुद्दतीमा राख्दा आजदेखि वाणिज्य बैंकमा ११.०५ प्रतिशतसम्म, विकास बैंकमा ११.२५ प्रतिशतसम्म र फाइनान्स कम्पनीहरुमा ११.३५ प्रतिशतसम्म ब्याजदर पाइन्छ । 

    अघिल्लो महिना वाणिज्य बैंकहरुको अधिकतम ब्याजदर ९.३६ प्रतिशत तोकिएको थियो । तर झन्डै १ दर्जन बैंकको ब्याजदर भन्दा कम भएका कारण औसत ब्याजदर ९.१३ प्रतिशतमा सीमित भएको थियो । यो महिना भने एकाध बाहेक अरु सबै बैंकले अधिकतम ब्याजदर उच्च विन्दुमै पुर्याएका छन् । 

    अहिले पनि ब्याजदरलाई अधिकतम सीमाभन्दा तल राख्ने बैंकहरुमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय वाणिज्य बैंक लगायत छन् । सट्यान्डर्ड चार्टर्ड बैंकले मुद्दती खातामा अधिकतम ९.५ प्रतिशत ब्याजदर तोकेको छ । बचत खातामा भने ४.५ देखि ५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । 

    राष्ट्रिय वाणिज्य बैंकले मुद्दती खातामा ९.११ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बचत खातामा भने ४.११ प्रतिशतदेखि ५.५५ प्रतिशत ब्याजदर तोकिएको छ । 


    images
    images

    Logo