काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा १४ हजार भन्दा बढी उजुरीउपर कारबाही गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा अख्तियारले सो बराबरको उजुरीउपर छानबिन तथा कारबाही गरेको हो ।
अख्तियारमा सो वर्ष कुल १४ हजार ४ सय २५ वटा नयाँ उजुरी परेका थिए । ८ हजार २ सय उजुरी भने अघिल्लो वर्षको सरेर आएको थियो । यो समेत गरी कुल २२ हजार ६ सय २५ उजुरी रहेकोमा एक वर्षमा १४ हजार ५ सय ३२ उजुरीउपर प्रारम्भिक कारबाही गरेको हो । यो कुल मुद्दाको ६४.२३ प्रतिशत हो ।
त्यसमध्ये ५ सय १० मुद्दाको विस्तृत अनुसन्धान गर्ने निर्णय गरिएको छ । ८ हजार २ सय ६७ उजुरीलाई तामेलीमा राखिएको छ । ८ सय ५० उजुरीउपर सुझाव दिइ तामेली गरिएको र बाँकी ४ हजार ९ सय ५ उजुरीउपर अन्य कारबाही गरिएको जनाइएको छ । अख्तियारले अघिल्लो वर्षबाट चालु आर्थिक वर्षमा ८ हजार ९३ वटा मुद्दा सारेर ल्याएको छ ।
अख्तियारमा प्राप्त उजुरीमध्ये संघीय मामिलासँग सम्बन्धित उजुरी रहेका छन् । त्यस्तै शिक्षा क्षेत्र, भूमि प्रशासन, भौतिक पूर्वाधार तथा यातायात, गृह प्रशासन, उर्जा जलस्रोत तथा सिँचाई क्षेत्रका छन् ।
यो वर्षमा अख्तियारका ९६ वटा बैठक बसेर ६ सय ६३ वटा निर्णय भएको अख्तियारले जनाएको छ ।



