काठमाडौं । सरकारले गाँजा खेतीलाई कानूनी मान्यता दिने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले गाँजालाई कानूनी मान्यता दिन कानून संशोधन गर्ने बताएका हुन् ।
यसअघि सांसदको हैसियतमा गाँजा खेतीको बैधानिकताका लागि नेतृत्व लिएका खतिवडा यतिबेला स्वास्थ्यमन्त्री छन् । गाँजाको प्रयोगले स्वास्थ्य र अर्थतन्त्र दुवैलाई सकारात्मक पार्नसक्ने भए पनि बिना कारण यसलाई रोक लगाइएको भन्दै यसलाई कानूनी मान्यता दिने तयारी गरिएको हो ।
गाँजालाई कानूनी रुपमा खुला गर्न यसलाई अवैध लागुऔषधको सूचीबाट हटाउनुपर्छ । अहिले लागुऔषधको रुपमा ब्याख्या गरिएको गाँजालाई औषधिजन्य नगदेबालीको रुपमा ब्याख्या गर्ने खतिवडाको भनाइ छ ।
यसअघि गाँजा खेतीलाई बैधानिकता दिन माग गर्दै हाल नेकपा एमालेका कार्यालय सचिव समेत रहेका शेरबहादुर तामाङले गैर सरकारी विधेयक नै दर्ता गराएका छन् ।



