काठमाडौं । विभिन्न व्यक्तिहरूबाट ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका(४ बालुवाटार बस्ने भारत कोडामबाक्कम चेन्नाई तामिलनाँडु घर भएका ४४ वर्षीय शिवम विरुमुथु चेटियारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
शिवमले आफू मेडिकल ब्यवसाय गर्ने, मणिपाल अस्पताल खरिद गर्ने भारतीय शेयर होल्डरहरुसँग कुराकानी भई सम्झौता गर्नका लागि एग्रिमेन्टको ड्राफ्ट समेत तयार भईरहेको भनि झुट्टा कागजात र कुराकानी तयार गरि विभिन्न ब्यक्तिहरूलाई अस्पतालमा पार्टनरसिपको प्रलोभन देखाई ठगी गर्ने गरेको पाइएको हो ।
बिभिन्न व्यक्तिहरूको स्वामित्वको जमिनको लालपूर्जा समेत आफ्नो नियन्त्रणमा लिई ठगी गर्ने गरेको, विभिन्न बैंक तथा बित्तिय संस्थामा ठूलो परिमाणमा आफ्नो नाममा संस्थापक शेयर रहेको भनि झुट्टा कागजात तथा बिवरण देखाई ठगी गर्ने गरेको, आफूलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिको डाईरेक्टर हुँ भनि नक्कली परिचयपत्र देखाई नेपाल सरकारका उच्च अधिकारीसँग समेत निकट सम्बन्ध कायम रहेको देखाउने, विभिन्न व्यक्तिका नेपाली नागरिकताको प्रमाणपत्र आफ्नो साथमा राखी सो नागरिकता मार्फत बैंक खाता संचालन गरी ठगी मार्फत आएको रकम जम्मा लगायत भुक्तानी लिने गरेको भन्ने जस्ता सूचनाको आधारमा महानगरिय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले बालुवाटारबाट उनलाई पक्राउ गरेको हो ।
उनले विभिन्न बर(बहाना अनुसार नै बिभिन्न ब्यक्तिबाट पटक पटक गरी उक्त रकम बराबरको ठगी गरेको तथा अन्य व्यक्तिहरुसँग समेत ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । साथै उनी २०७२ जेठ २२ गते पक्राउ परी बैदेशिक रोजगारी सम्बन्धी कसूरमा डिल्ली बजारमा २ वर्ष कैद तथा ३ लाख ५० हजार रुपैयाँ रकममा रिहा भएको अनुसन्धानबाट खुल्न आएको छ ।



