काठमाडौं । राष्ट्रिय जनगणना २०७८ बिहीबारबाट सुरु गरिएको छ । जनगणनाको पहिलो दिन राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीको विवरण संकलन गरेर जनगणना शुभारम्भ गरिएको छ ।
पहिलो दिन बिहीबार बिनाअवरोध देशैभर जनगणना गरिएको छ । केही स्थानीय तहमा चिसो मौसमका कारण केही ढिलो गरी जनगणाना सुरु गरिए पनि देशैभर जनगणना प्रारम्भ गरिएको छ । सुरुकै दिन करिब १५ लाख व्यक्तिको गणना गरिएको जानकारी केन्द्रीय तथ्याङ्क विभागले दिएको छ ।
विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसहितको टोलीले राष्ट्रपति, प्रधानमन्त्री र उपराष्ट्रपति कार्यालयमा पुगेर जनगणनाको विवरण सङ्कलन गरेका थिए । विभागका निर्देशक ढुण्डीराज लामिछानेले प्रधानमन्त्रीको जनगणना गरेर आम जनतामा सकारात्मक सन्देश प्रवाह गरिएको सञ्चारकर्मीलाई बताए । राष्ट्रिय जनगणनाजस्तो महान् अभियानमा राष्ट्रपति र प्रधानमन्त्रीको पनि जनगणना हुन्छ र अभियानमा आम जनसहभागिता होस् भन्ने साङ्केतिक रूपमा सन्देश दिन तथ्याङ्क लिइएको हो । जनगणना लिएको सबै तथ्याङ्क गोप्य राखिनेछ ।
राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले जनगणनाबारे जानकारी गराउँदै यसको हरेक क्षेत्रमा पर्ने प्रभावबारे प्रधानमन्त्री देउवालाई अवगत गराएका थिए । यसैगरी गणकले सोधेका प्रश्नअनुसार आफ्नो पारिवारिक तथा व्यक्तिगत विवरण उपलब्ध गराएपछि उपराष्ट्रपति पुनले राष्ट्रिय जनगणना–२०७८ को सफलताको शुभकामना दिए । उनले निर्धारित समयभित्र देशको वास्तविक चित्र आउने गरी राष्ट्रिय जनगणना सम्पन्न हुने विश्वास व्यक्त गरे ।
प्रदेशस्तरमा खटिएका गणक र सुपरिवेक्षकले पनि सम्बन्धित प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, पालिकाका प्रमुखको विवरण सङ्कलन गरेर जनगणना सुरु गरिएको विभागले जनाएको छ । जनगणनालाई राष्ट्रिय अभियानका रूपमा शुभारम्भ भएको सकारात्मक सन्देश प्रवाह गर्न विभागले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका प्रदेश र स्थानीय तहका प्रमुखहरूको विवरण सङ्कलन गरिएको जानकारी विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले जानकारी दिए ।
यसैगरी राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्ष दलका नेता ओलीले राष्ट्रिय जनगणना–२०७८ को भिडियो सन्देश जारी गर्दै देश विकासका लागि अत्यावश्यक पर्ने जनगणनामा सबैले गणकले सोधेका प्रश्नको उत्तर दिएर सहयोग गर्न आग्रह गरे ।
जनगणनाका लागि देशैभर ७५३ वटा स्थानीय तहका छ हजार ७४२ वटै वडामा गरी ३९ हजार जना गणक र आठ हजार पाँच सय जना सुपरिवेक्षक कार्य क्षेत्रमा खटिएका छन् । पाँच जना गणकलाई एक जना सुपरिवेक्षकले यस अगाडि गरिएको घर तथा घरपरिवारको सूचीकरणको फारम र नक्सा प्रदान गरेर अनुगमन, समन्वय र सहजीकरण गरिरहेका छन् ।
त्यस्तै गणकलाई सुपरिवेक्षक, सुपरिवेक्षकलाई स्थानीय जनगणना अधिकारी र स्थानीय जनगणना अधिकारीलाई जिल्ला तथा प्रदेश जनगणना अधिकारी र जिल्ला र प्रदेश जनगणना अधिकारीलाई तथ्याङ्क विभागले आवश्यक सहयोग र समन्वय गरिरहेको जनाइएको छ । जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ ।



