काठमाडौं । कात्तिक कृष्ण पक्षको आंैशी तिथिको दिन आज घरघरमा लक्ष्मीपूजा गरिँदैछ । आजकै दिनलाई गाइतिहारे औंशी, पनि भनिन्छ । महाकवि लक्ष्मीप्रदास देवकोटाको जन्मजयन्ती आज नै पर्छ भने र नेपाल संबत् ११४२ पनि आजबाटै सुरु भएको छ ।
कात्तिक कृष्ण पक्षको यो रातलाई सुखरात्रि पनि भनिन्छ । हिन्दु संस्कृतिले वर्षका केही थिथिलाई विशेष दिनको रुपमा मानेको छ । शिवरात्रिलाई महारात्रि, कृष्ण जन्माष्टमीको रात्रिलाई मोहरात्रि र नवरात्रको सातौं दिनको रात्रिलाई कालरात्रि र कात्तिक कृष्ण औंसीको रात्रिलाई सुखरात्रि भनिन्छ । सुखरात्रिको साँझ वा अर्धरात्रि कालमा लक्ष्मी पूजा गर्ने शास्त्रीय मान्यता छ ।
आफैं पूजा गर्दा के हुन्छ ?
हिन्दु धर्ममा कुनैपनि पूजा गर्दा पञ्चोपचार वा षोडशोपचारमध्ये एउटा विधिबाट गरिन्छ । पञ्चोपचार अर्थात् पाँच किसिमको पूजा सामग्री प्रयोग गरेर गरिने पूजा र षोडशोपचार अर्थात् सोह्र किसिमको पूजा सामग्री प्रयोग गरेर पूजा गर्ने दुई विधि हिन्दु शास्त्रमा उल्लेख छ ।
पञ्चोपचार विधिमा भने चन्दन, अक्षता, फूल, धूप र बत्तिको प्रयोग गरिन्छ । षोडशोपचार विधि अन्तर्गत भने ध्यान–आवाहन, आसन, पाद्य, अघ्र्य, आचमन, स्नान, वस्त्र, यज्ञोपवित, गन्धाक्षत, पुष्प, धुप, दीप, नैवेद्य, ताम्बुल, दक्षिणा, जल आरती, मन्त्र पुष्पाञ्जलि र प्रदक्षिणा–नमस्कार, स्तुति पर्दछन् ।
शास्त्रले देवीदेवताको पूजा गर्दा शब्दमा गल्ती भएर केही फरक नपर्ने ब्याख्या गरेको छ । अर्थात् असल भाव वा नियतले पूजा गरिन्छ भने त्यहाँ मन्त्रोच्चारण वा विधि पूरा नभए पनि देवताहरु खुसी हुन्छन् । त्यसैले लक्ष्मीपूजाको विधि पूरा गर्न नसेकर निराश हुन नपर्ने धर्मशास्त्रका जानकारहरु बताउँछन् ।
कसरी गर्ने पूजा ?
पञ्चोपचार विधिबाट पूजा गर्न दियो, कलश (२ वटा), लक्ष्मीको प्रतिमा, थाली। जनै, सुपारी, जौ, तिल चन्दन अक्षता, फूल, कुश आवश्यक मात्रामा, कर्मपात्रोको आवश्यकता पर्छ ।
लक्ष्मीपूजा बेलुकी गरिने भएकोले सामान्यतया पश्चिम दिशातर्फ फर्केर गरिन्छ । हिन्दु संस्कृति अनुसार बिहान र दिउँसोको समयमा गरिने सबैखाले पूजाहरु पूर्व फर्किएर गर्नुपर्छ । साँझको समयमा गरिने सबै पूजाहरु पश्चिमी मोहडा फर्किएर गरिन्छ ।
पूजा गर्दा बीचमा दियो राख्ने, दियोको दाहिनेपट्टि कलश राख्ने, दियोको देब्रेपट्टि गणेश राख्ने गरिन्छ । दियोको पश्चिमपट्टि धान वा चामलमाथि एउटा कलश राखेर त्यसमाथि थाली राख्ने गरिन्छ । त्यही थालीमाथि प्रतिमा राखी लक्ष्मीको आवाहन गर्नुपर्छ । यसरी सबै सामग्री तयार पारिसकेपछि कर्मपात्रोमा कुशको टुक्रा राख्नुपर्छ । कुशको औंठी लगाइसकेपछि विधिवत् रुपमा पूजा सुरु हुन्छ । पूजा सुरु गरेर बत्ती बालिसकेपछि सबैतिरका तीर्थलाई कलशमा आवाहन गर्छाैं । त्यसपछि आफ्नो कुल देवता, वास्तु देवता, नागनागिन आदिको आवाहन गर्दै पूजाको अरु प्रक्रिया अघि बढाइन्छ ।
पवित्रीकरण
पूजा सुरु भएपछि तल उल्लेखित मन्त्र पढेर मन्त्र पढेर आफ्नोमाथि तथा सबै पूजन सामग्रीमा पञ्चपात्रमा राखेको जल छरकेर पवित्रीकरण गर्नुपर्छ ।
ॐ अपवित्र पवित्रो वा सर्वावस्थां गतोपी वा ।
यः स्मरेत पुण्डरीकाक्षं स बाह्याभ्यन्तरम् शुचिः ।।
सामान्य अवस्थामा पवित्रीकरणपछि गोदानको काम हुन्छ । तर आफैँले लक्ष्मीपूजा गर्दा त्यो आवश्यक नहुने भएकोले त्यसको विधि उल्लेख गरिएको छैन ।
संकल्प
आफ्नो दाहिने हातमा कुश, तिल र पानी लिएर निम्न मन्त्रद्वारा संकल्प गर्नुपर्छ ।
ॐ विष्णुर्विष्णुर्विष्णुः श्रीमद्भगवतो महापुरुषस्य विष्णोराज्ञया प्रवर्तमानस्य अद्य श्री ब्रह्मणोऽह्नि द्वितीयेपरार्धे श्री श्वेतवाराहकल्पे वैवस्वतमन्वन्तरे अष्टाविंशतितमे कलि–युगे कलि प्रथम चरणे जम्बूद्वीपे भारतवर्षे भरतखण्डे नेपाल देशे पाशुपत क्षेत्रे काष्ठमण्डप नगरे देवीदेवता चरण कमलस्थाने षष्ठी संवत्सराणामध्ये राक्षस नाम संवत्सरे श्री सूर्य दक्षिणायने कात्तिक मासे कृष्ण पक्षे आमावश्या तिथौ तुला राशिस्थिते श्री सूर्य कुम्भ राशिस्थित देवगुरु यथास्थिते चन्द्रमा अन्येषु ग्रहेषु यथास्थान स्थितेषु ....(कर्ताको नाम लिएर) अद्य दिने श्री लक्ष्मी पूजा कर्मादिक प्राप्ति कामना सिध्यर्थम् अप्राप्त लक्ष्मी प्राप्तम् लक्ष्मी चिरकाल संरक्षणार्थम् कायिक वाचिक सांसर्गिक सकल दोष निकारणार्थम् ... (आफ्नो गोत्रको नाम भनेर) गोत्रोत्पन्न अहं मम अद्य दिने दीपकलशगणेश पूजनपूर्वक लक्ष्मीदेवी कृतये पूजन अहं करिष्ये । (यति भनेर हातमा लिएको कुश, तिल र पानी भुइँमा छाड्ने)
संकल्प सकिएपछि दियो, कलश र गणेश पूजा गर्ने । पूजा गर्ने समयमा दियोको पूजा गर्दा ‘ॐ दीप नारायणेभ्यो नमः’ भन्नेमन्त्रोच्चारण गर्न सकिन्छ । त्यसैगरी कलशको पूजा गर्दा ‘ ॐ वरुण कलशाय नमः’ र गणेशको पूजा गर्दा ‘ ॐ गणेशाय नमः’ मन्त्र उच्चाहरण गरेर पूजा गर्न सकिन्छ । दियो कलश र गणेशको पूजा गर्ने विशेष मन्त्र भए पनि सामान्य मान्छेले आफैँ पूजा गर्दा माथि उल्लेखित मन्त्र उच्चाहरण गरेर पनि गर्न सकिन्छ ।
दियो कलश र गणेशको पूजा सकेपछि कलश माथि रहेको थालीमा राखिएको लक्ष्मीलाई ‘भो लक्ष्मी यागच्छः यातिष्ट, यावत्, पूजाम् करोमि तावतम् सुस्थिरा भव सुप्रशन्नाभवः सुवरदा भवः’ भनेर प्रतिमामा जौतिल राखिदिने ।
त्यसपछि विधिवत् रुपमा पञ्चोपचार वा षोडषोपचार विधिबाट पूजा गर्नुपर्छ । पञ्चोपचार विधिबाट पूजा गर्दा कुशको आसन लक्ष्मीको प्रतिमामा चढाउनु पर्छ, जल चढाउने, अर्घ (कुशको टुक्रा, दुबो, जौ, तिल, सस्र्यु, सिंगो फल), कपुर मिसाएको जल र पञ्चामृत चढाएर लक्ष्मी पूजा गरिन्छ ।
शान्ति पाठ
पूजा सकिएपछि आरती गर्न सकिन्छ । त्यसको लागि तीन चोटी आचमनीबाट जल लिएर दीपकको चारैतिर घुमाउने तथा निम्न मन्त्रको उच्चारण गर्ने ।
ॐ द्यौः शान्तिरन्तरिक्ष शान्तिः,
पृथ्वी शान्तिरापः शान्तिरोषधयः शान्तिः ।
वनस्पतयः शान्तिर्विश्वे देवाः शान्तिर्ब्रह्म शान्तिः,
सर्वँ शान्तिः, शान्तिरेव शान्तिः, सा मा शान्तिरेधि ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।
यसरी शान्ति मन्त्र सकेपछि त्यसपछि घरमा रहेका अन्य चल अचल सम्पत्तिलाई सोही विधिबाट पूजा गरेर विधिवत् रुपमा यो पूजा सम्पन्न गरिन्छ ।
अर्धरात्रिकालमा लक्ष्मीको पूजा गरेर अलक्ष्मीलाई बहिर्गमन गराउने पर्व हो, लक्ष्मीपूजा । यसदिन लक्ष्मीलाई घरमा भित्र्याउने र अलक्ष्मीलाई बहिर्गमन गराउनको लागि घरभित्र रहेका सबै पुराना र टुटेफुटेका सामान बाहिर निकाल्ने गरिन्छ । क



