images
images

भरतपुरको पुल्चोक–गोन्द्राङ ६ लेन सडक निर्माण अन्तिम चरणमा, ८५ प्रतिशत काम सकियो


  • 454
    SHARES
  • २०८१ जेठ २ गते बुधबार

    भरतपुरको पुल्चोक–गोन्द्राङ ६ लेन सडक निर्माण अन्तिम चरणमा, ८५ प्रतिशत काम सकियो

    चितवन । भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको पुल्चोक–गोन्द्राङ् छ लेन सडकखण्ड निर्माण ८५ प्रतिशत सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन नभए पनि थप बजेट निकासा गरी कामलाई गति दिइएको हो । 

    सडक डिभिजन कार्यालय चितवनका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ मात्र बजेट विनियोजन भएको थियो । थप २० करोड रुपैयाँ बजेट निकासा गरेर काम गरिएको उनले जानकारी दिए । सडकको केन्द्रीय बस टर्मिनलदेखि गोन्द्राङ्सम्म कालोपत्र सकिएको छ ।  बसपार्कबाट पुल्चोकसम्म केही ठाउँमा दोस्रो र अधिकांश ठाउँमा कालोपत्रको अन्तिम तह बाँकी छ । 

    फुटपाथ, सर्भिसलेन, हरियालीका काम, सडक बत्तीलगायतका काम भइरहेको छ । कालोपत्र मात्र बाँकी रहेकाले धेरै समय नलाग्ने उनले जानकारी दिए । भरतपुर महानगरपालिकाले सहरी क्षेत्रको सडक छिटो सम्पन्न गर्न बजेट निकासाको पहल  गरेको थियो । उनले भने “अब बजेटको अभाव हुँदैन । निर्माण कम्पनीले तीव्र रुपमा काम गर्नुपर्यो ।”
     
    २०७७ साल असोज २७ गते सम्झौता भई निर्माण  सुरु भएको सो सडक खण्डको भदौसम्मका लागि दोस्रो पटक म्याद थपिएको छ । निर्माणको काम इन्डो सगुन जेभीले  गरिरहेको छ । कम्पनीले १ अर्ब ७ करोड रुपैयाँ भुक्तानी प्राप्त गरिसकेको छ । चालु आर्थिक बर्षमा पनि २५ करोड रुपैयाँ हाराहारी कम्पनीलाई भूक्तानी गरिएको उनले जानकारी दिए । 

    सुरुको ठेक्का रकम १ अर्ब २३ करोड रुपैयाँ रहेकामा मूल्य वृद्धिका कारण रकम बढ्ने छ । पौडेलका अनुसार काम सम्पन्न गर्न अझै २५ करोड रुपैयाँ आवश्यक पर्छ । यो सडक ६ दशमलव ०८ किलोमिटर लामो छ ।
     
    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सहरी क्षेत्रको सडकका लागि चालु आर्थिक वर्षमा न्यून बजेट विनियोजन भएकामा सम्बन्धित निकायमा अनुरोध गरेर बजेट निकासा गराएको बताए । महानगरपालिकाले घोषणा गरेको भ्रमण वर्ष सन् २०२४ यही सडकका  कारण तोकिएको समयमा उद्घाटन हुन सकेको थिएन । 

    प्रमुख दाहालले भने “बजेटका कारण काम हुन नसकेपछि  प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक योजनामन्त्री, सचिव लगायतलाई पटक–पटक अनुरोध गरेपछि काम भएको हो ।” 


    images
    images

    Logo