काठमाडौं । काठमाडौं उपत्यकाकै सबैभन्दा ठूलो विद्युत सब-स्टेशन र प्रसारणलाइन उद्घाटन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तनहुँको मार्की चोकदेखि काठमाडौंको मातातीर्थ सब-स्टेशनसम्मको करिब ८८ किलोमिटर २२० केभी प्रसारणलाइन र मातातीर्थमै रहेको समान क्षमताको सब-स्टेशन उद्घाटन गरेका हुन् ।
प्रसारणलाइन ४ र सबस्टेशन ४ गरी करिब ८ अर्ब रूपैयाँ लागतमा यी विद्युत् पूर्वाधार तयार भएको नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
त्यस निम्ति पहिलो चरणमा एसियाली विकास बैंकको सहयोगमा १० वटा सबस्टेशन तथा भूमिगत प्रसारणलाइन निर्माण चरणमा रहेको प्राधिकरणले जानकारी दिएको छ । करिब ८८ किमि लामो २२० केभी प्रसारण लाइन तथा मातातीर्थमा २२० केभी ३२० एममीए क्षमताको सवस्टेशन सञ्चालनमा आएको हो । २२० केभी क्षमताको ८८ किमि लाइनमध्ये ८२.२ किमि डबल सर्किट, ४.५ किमि चार सर्किट र १.३ किमि भूमिगत चार सर्किट छ ।
प्रसारण लाइनको लागि करिब ४ अर्ब र निर्माण सम्पन्न हुन लागेको मार्किचोक सवस्टेशन र मातातिर्थ सवस्टेशन गरी सवस्टेशन निर्माणमा करिब ४ अर्बसहित ८ अर्ब लगानी भएको छ ।
उक्त लगानी सरकार र नेपाल विद्युत् प्राधिकरणको सयुक्त लगानी एवम् सासेक पावर सिस्टम एक्सापन्सन परियोजनाअन्तर्गत एशियाली विकास बैंकको ऋण र नर्वे सरकारको अनुदान सहयोगबाट व्यवस्थापन गरिएको छ ।
प्रसारण लाइन निर्माण ठेकेदार कम्पनी टाटा पोर्जेक्ट्स लिमिटेड भारतले जुन, २०१६ मा सुरु गरि नोभेम्बर, २०२२ मा सम्पन्न गरेको थियो ।
मातातीर्थमा २२० केभी सवस्टेशन निर्माण ठेकेदार कम्पनी चाइना मेसिनरी इन्जिनियरिङ कोअर्पोरेशनले डिसेम्बर, २०२० मा शुरु गरि अप्रिल, २०२४ मा सम्पन्न गरेको छ ।
यस मातातीर्थ २२० केभी सवस्टेशन भएर मर्स्याङ्दी बेशिनमा उत्पादित जलविद्युत् र त्रिशुली बेशिनमा उत्पादित जलविद्युत् गरी करिब २००० मेगावाटसम्म विद्युत प्रवाह हुन सक्नेछ । यसले गर्दा काठमाडौं उपत्यकामा भविष्यको विद्युत् मागलाई सम्बोधन गर्न सहयोग पुग्नुका साथै समग्र विद्युत प्रणालीको गुणस्तरमा सुधार ल्याउनेछ ।
काठमाडौं उपत्यकाको विद्युतको माग सन २०५० सम्ममा करिब ३२०० मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ ।
उक्त माग व्यवस्थापनका साथै गुणस्तरिय विद्युत् आपूर्ति गर्न काठमाडौं उपत्यका वरिपरि २२० केभी प्रसारण रिङ मेन प्रणाली र शहरका विभिन्न नदी कोरिडोरहरुमा प्रसारण तथा सवस्टेशन सञ्जाल बिस्तार आयोजना एशियाली विकास बैंकको अनुदान सहयोगमा अन्तर्राष्ट्रिय परामर्शदाता मार्फत तयार भई चरणबद्ध कार्यान्वयनको चरणमा छ ।
यस कार्यको पहिलो चरणको लागि काठमाडौ उपत्यका भित्र एशियाली विकास बैंकको ऋण सहयोगमा १० वटा सवस्टेशन तथा भूमिगत प्रसारण लाइन निर्माणको चरणमा छ ।
काठमाडौं उपत्यकामा बढी हुने विद्युत मातातीर्थ सवस्टेशनबाट १३२ केभी प्रसारणलाइनबाट हेटौंडातर्फ पठाइनेछ । देशभित्र विद्युत खपत बढाई भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिको लागि प्रसारण लाइन र वितरणमा ठुलो लगानीको आवश्यकता छ ।
सन १९११ सालमा फर्पिङ जलविद्युतबाट ५०० किलोबाट विद्युत उत्पादन गरेर शुरु भएको जलविद्युतको यात्रा २०७२ सालसम्म आइपुग्दा १०४ बर्षमा करिब ८०० मेगावाट पुगेकोमा विगत ७ वर्षभित्र करिब ३२५० मेगावाट पुगेको छ ।
करिब ७००० मेगावाट भन्दा बढीका आयोजनाहरू निर्माणका विभिन्न चरणमा छन् । माथिल्लो अरुण १०६३ मेगावाट, दुधकोशी ६७० मेगावाट जलाशययुक्त आयोजनाहरु विश्व बैंक र एशियाली विकास बैंकको नेतृत्वमा वित्तीय व्यवस्थापन हुने अन्तिम चरणमा रहेका छन् ।



