images
images

काठमाडौं-तराई-मधेश द्रूतमार्गको भौतिक प्रगति ३३ प्रतिशत


  • 408
    SHARES
  • २०८१ बैशाख ७ गते शुक्रबार

    काठमाडौं-तराई-मधेश द्रूतमार्गको भौतिक प्रगति ३३ प्रतिशत

    काठमाडौं । काठमाडौँ–तराई–मधेश द्रूतमार्गको भौतिक प्रगति हालसम्म ३३ प्रतिशत भएको छ। करिब ७१ किमी दुरीको काठमाडौँ–तराई–मधेश दू्रतमार्ग(फाष्ट ट्रयाक)का हालसम्म ३३ प्रतिशत भौतिक र वितीय प्रगति हासिल भएको हो।

    संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा फाष्ट्राकबारे ब्रिफिङ गर्दै रक्षा मन्त्रालय र सेनाले निर्माणलाई १३ समूहमा विभिजन गरी काम भइरहेको जनाए। सेनाले प्रस्थान विन्दुक्षेत्र खोकनाबाहेक अरु क्षेत्रको काम भकाभक अघि बढिरहेको ब्रिफिङ समितिलाई गरायो।

    बनाइनुपर्ने ६ वटा सुरुङमध्ये तीन वटाको निर्माण समग्रमा ७६ प्रतिशत प्रगति भएको सेनाले बतायो।

    आयोजनाका लागि हालसम्म ३० हजार ५९१ रुख कटान गरिएकामा एक रुख बराबर २५ कादरले पाँच लाख विरुवा रोपेर हुर्काउने कामसमेत भइरहेको सेनाको भनाइ छ । केही रुख कटान, केही जग्गा अधिग्रहण, मुआब्जा वितरण लगायतका समस्या भने सुल्झाउन बाँकी नै रहेको जानकारी दिइयो ।

    रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले राजनीतिक, धार्मिक र सांस्कृतिलगायतका विभिन्न विषयबस्तुसँग गाँसिएको रणनीतिक महत्वको आयोजनालाई तीव्रगतिमा अघि बढाउन समयमै प्रयाप्त बजेटको अभावमा श्रोत, जनशक्ति र उपकरणको पूर्णरुपमा सदुपयोग हुन नसकेको बताए।

    वन तथा वातावरण मन्त्रालयका सचिव डा दीपककुमार खरालले मुलुकको सर्वाधिक प्राथमिकता प्राप्त आयोजना समयमै सम्पन्न गर्ने सेनाको प्रयासमा मन्त्रालयका तर्फबाट हरसम्भव सहयोग र समन्वय भइरहेको दाबी गरे।

    सेनाको व्यवस्थापनमा निर्माण भइरहेका रणनीतिक महत्वका चार वटा उत्तर–दक्षिण सडकको समग्र प्रगति भने ८८ प्रतिशत रहेको पनि सो अवसरमा जानकारी दियो।

    भौतिकपूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले मुलुकको रणनीति महत्वको द्रुत मार्गलगायतका उत्तर–दक्षिण सडक कोरिडोर मन्त्रालयको प्राथमिकतामा रहेको बताए।

    नेपाली सेनाका सहायकरथी विकास पोखरेलले दु्रतमार्गका लागि अधिग्रहण गर्नुपर्ने १५ हजार ४१६ रोपनी जग्गामध्ये ३९२ बाँकी नै रहेको तथा प्रस्थान विन्दुमा देखिएको समस्या सुल्झाउन विभिन्न ६ विकल्पमा अध्ययन भइरहेको समितिलाई बताए।

    सेनाले विभिन्न कानुनी, नीतिगत, प्रक्रियागत कार्य र भौगोलिक चूनौतिकाबीचमा पनि आफ्नो नेतृत्वमा अघि बढिरहेका आयोजनालाई समयमै पुरा गर्न दिलो ज्यान र सम्भव भएसम्मको ज्ञान प्रयोग गरी पारदर्शी ढङ्गबाट लक्ष्य बमोजिम काम भइरहेको जनाएको छ । करिव दुई खर्ब ११ अर्ब ९४ करोडको लागत अनुमान भए पनि द्रुतमार्गमा हालसम्म ५७ अर्ब खर्च भएको छ।

    दु्रतमार्ग २०७४ जेठमा शिलान्यास भई २०७६ असोजबाट कार्य प्रभारम्भ भएको द्रुत मार्ग आगामी २०८३ चैतसम्ममा निर्माण पुरा गर्ने गरी सेनाको व्यवस्थापनमा अघि बढिरहेको छ।


    images
    images

    Logo