images
images

नारायणगढ–बुटवलअन्तर्गत पूर्वी खण्डमा कालोपत्र


  • 405
    SHARES
  • २०८० चैत्र २१ गते बुधबार

    नारायणगढ–बुटवलअन्तर्गत पूर्वी खण्डमा कालोपत्र

    त्रिवेणी  । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा २९ किलोमिटर कालोपत्र भएको छ । यस खण्डको ११३ किलोमिटर सडकमध्ये पूर्वी खण्डमा करिब ६५ किलोमिटर पर्दछ । 

    नवलपुरको गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटर सडकमा हाल २९ किलोमिटर कालोपत्र गर्ने काम सकिएको निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनका ठेक्का सहव्यवस्थापक राकेश झाले बताए । पूर्वी खण्डको ६५ किलोमिटर सडकमध्ये १९ किलोमिटर एकतर्फ र अर्कोतर्फ १० किलोमिटर गरी २९ किमी कालोपत्र गरिएको उनले जानकारी दिए ।

    झाका अनुसार आगामी साउनमा दोस्रो पटक थपिएको म्याद सकिने नारायणगढ–बुटवल सडक विस्तार योजनाको हालसम्मको प्रगति ४८ दशमलव ६१ प्रतिशत पुगेको छ । २०७५ साल माघमा सम्झौता भएर उक्त खण्डमा स्तरोन्नतिको काम थालिएको थियो ।

    आगामी असारसम्ममा गैँडाकोटबाट दुम्किबाससम्म एकतर्फी सडक कालोपत्र गरिसक्ने लक्ष्य राखिएको सहव्यवस्थापक झाले बताए। “हाम्रो लक्ष्य दाउन्ने बाहेक पूर्वी खण्डमा एकतर्फी रुपमा कालोपत्र गरेर सक्ने छ । कुनै अवरोध नआए सक्छौँ”, उनले भने । 

    दाउन्नेमा भित्ता काट्ने काम जारी रहेको भन्दै ५ किलोमिटरमध्ये ३ सय मिटरमा भित्ता काट्न बाँकी रहेको जानकारी दिए । एक साताभित्र भित्ता काट्ने काम सकिने उनको भनाइ छ ।

    यातायात आवागमनलाई सहज पार्न पहिलो चरणमा एकतर्फी सडक कालोपत्र सक्ने योजना अनुसार काम भइरहेको झाले बताए । अहिले दैनिकजसो कालोपत्र गर्ने काम भएको र डण्डा चोरमारा खण्डमा एकदुई दिनमा काम सकिने उनले बताए । 

    पूर्वी खण्डको कावासोती र डण्डा बजार क्षेत्रमा भने दुईतर्फी रुपमा कालोपत्र गर्नेगरि काम भइरहेको झाले बताए । उनका अनुसार बजार क्षेत्रमा सर्भिस लेनसहित छ, दाउन्ने खण्डमा तीन र अन्य क्षेत्रमा चार लेनको सडक निर्माण हुनेछ । 

    गैँडाकोटबाट दाउन्नेसम्म पहिलो खण्ड र दाउन्नेबाट बुटवलसम्म दोस्रो खण्डमा विभाजन गरी निर्माण भइरहेको झाले जानकारी दिए । करिब  १७ अर्ब रुपैयाँ लागत लाग्ने उक्त आयोजना लामो समयसम्म सम्पन्न नहुँदा यस खण्ड भएर  यात्रा गर्ने यात्रु र चालकले सास्ती खेप्दै आएका छन् । 

    कालोपत्रको कामसँगै पुल निर्माणसमेत अगाडि बढिरहेको ठेक्का सहव्यवस्थापक झाले बताए । उनका अनुसार नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ठूला १२ वटा पुल निर्माण हुनेछन् । यस खण्डमा साना २२ वटा पुल निर्माण गर्नुपर्नेमा करिब सबै पुल निर्माण सकिएको छ । ठूला पुल निर्माण भइरहेका उनको भनाइ छ । 


    images
    images

    Logo