काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यालय स्तरको कक्षाकोठाको सिकाई वृद्धि गर्न नयाँ शैक्षिक कार्यक्रम ल्याएको छ । विश्वविद्यालय शिक्षाशास्त्र संकायको डिन कार्यालयले तीन दशक भन्दा बढी अवधिदेखि पठनपाठन गराउँदै आएको एक वर्षे बिएड कार्यक्रम हालको समयमा प्रभावकारी नभएको भन्दै खारेजी गरेको छ । र, तीन सेमेस्टरको नयाँ शैक्षिक कार्यक्रम बनाएर भर्ना खुलाइएको छ ।
शिक्षा ऐन २०२८सालकै आधारमा हालसम्म त्रिवि शिक्षा शास्त्र संकायले शिक्षक उत्पादन गर्दै आएपनि ती शिक्षकहरुले परिवर्तित समय अनुसारको कक्षाकोठामा शिक्षण सिकाई गर्न नसकेको सरकारी अनुसन्धानले औँल्याएको छ । सोही अनुसार त्रिविले तीन सेमेस्टरको नयाँ पाठ्यक्रम अनुसारको पोष्ट ग्राजुएट डिप्लोमा कार्यक्रम ल्याएको छ ।
शिक्षा शास्त्र संकायले पिजिडि अन्तर्गत विज्ञान, अंग्रेजी, नेपाली, गणित, सामाजिक शिक्षा, स्वास्थ्य तथा शारिरिक शिक्षा, जनसङ्ख्या शिक्षा र आइसिटि विषयमा तीन सेमेस्टरको पोस्ट ग्राजुएट डिप्लोमा कोर्ष संचलन गर्ने गरि भर्ना आवेदन माग गरेको छ ।
पहिलो वर्ष देशभरिका त्रिविका १३ आंगिक कलेजमा मात्र यो कार्यक्रम लागु गर्ने अनुमति दिइएको छ । नयाँ कार्यक्रम अनुसार माघ ११ गतेसम्म आवेदन दिने र माघ १४ गते प्रवेश परीक्षा तय गरिएको छ भने २१ गते देखि कक्षा संचालन हुनेछ ।



