images
images

मन्दीको चपेटामा परेको उद्योगको विजुली काट्दा व्यवसायीको मनोबल खस्कन सक्छ : संघ


  • 301
    SHARES
  • २०८० पौष ८ गते आइतबार

    मन्दीको चपेटामा परेको उद्योगको विजुली काट्दा व्यवसायीको मनोबल खस्कन सक्छ : संघ

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनबाट लिएको बिजुलीको महसुल भुक्तानी नगरेका उद्योगको लाइन काटेको प्रति नेपाल समुन्द्रपार निकासी पैठारी संघले विरोध गरेको छ ।

    सम्बन्धित उद्यमीले देशमा लोडसेडिङ अन्त्य भइसकेपछि डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिन प्राधिकरणमा आवेदन नै नदिएको अवस्थामा प्राधिकरणले ६७ प्रतिशतसम्म महसुल थप गरी बिल पठाएको संघले बताएको छ ।

    बिजुली उपभोग गरेको प्रमाण प्राधिकरणले दिन नसकेको भन्दै संघले लाइन काट्नु दुखःद् भएको बताएको छ । यसबाट मन्दीको चपेटामा परेको अर्थतन्त्र र कठिन परिस्थितिको सामना गरिरहेको उद्योग, व्यवसायमा गम्भीर धक्का लाग्ने र उद्यमी व्यवसायीको मनोबल अझै खस्किने संघले बताएको छ ।

    यो विषयलाई दुवै पक्षले जित्ने गरी यथाशीघ्र सम्बोधन गर्न, विद्युत् आपूर्ति काटिएका उद्योगहरुमा तत्काल आपूर्ति सुचारु गर्न तथा यही निहुँमा थप उद्योगहरुमा आपूर्ति नरोक्न आग्रह गरेको छ ।

    प्रेस विज्ञप्ति
    उद्योगमा विद्युत् आपूर्ति सुचारु गर्न आग्रह

    काठमाडौं, पुस ८ 

    नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट लिएको बिजुलीको महशुल भुक्तानी नगरेको नाममा शुक्रबार केही ठूला उद्योगहरुमा विद्युत् आपूर्ति रोकेको खबरप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ । सम्बन्धित उद्यमीले देशमा लोडसेडिङ अन्त्य भइसकेपछि डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिन प्राधिकरणमा आवेदन नै नदिएको अवस्थामा प्राधिकरणले ६७ प्रतिशतसम्म महशुल थप गरी बिल पठाएको र बिजुली उपभोग गरेको प्रमाण दिन नसकेको तर्क गरिरहेका बेला प्राधिकरणबाट उक्त गुनासो सम्बोधन नै नगरी लाइन काट्ने जस्तो गम्भीर कदम चालिनु अत्यन्तै दुखद् छ । यसबाट मन्दीको चपेटामा परेको अर्थतन्त्र र कठिन परिस्थितिको सामना गरिरहेको उद्योग, व्यवसायमा गम्भीर धक्का लाग्ने र उद्यमी व्यवसायीको मनोबल अझै खस्किने संघको निष्कर्ष छ । 

    यसअघि ट्रंक लाइन र डेडिकेटेड फिडरको महसुलको निहुँमा विद्युत् आपूर्ति नरोक्न प्रधानमन्त्रीज्यूले दिनुभएको निर्देशनले समेत यो विवादलाई दुवै पक्षले जित्ने गरी समाधान गर्नुपर्ने सन्देश प्रवाह गरेको थियो । यसैबीच प्रधानमन्त्रीबाट लाइन काट्ने निर्देशन हुनु र प्राधिकरणले एक्कासि लाइन काट्दा सिंगो निजी क्षेत्र त्रसित बनेको छ । उद्योग, व्यवसायका लागि उपयुक्त वातावरण दिएर मुलुकलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउने सन्दर्भमा अभिभावकीय भूमिका खेल्नुपर्ने सरकार र सरकारी निकायबाटै व्यवसायीलाई तर्साउने खालको कदम चालिँदा देशको सर्वांगीण विकासका लागि अति आवश्यक स्वदेशी र विदेशी लगानी प्रभावित हुने निश्चित छ । 

    अतः यो विषयलाई दुवै पक्षले जित्ने गरी यथाशीघ्र सम्बोधन गर्न, विद्युत् आपूर्ति काटिएका उद्योगहरुमा तत्काल आपूर्ति सुचारु गर्न तथा यही निहुँमा थप उद्योगहरुमा आपूर्ति नरोक्न यो संघ सम्बद्ध सबै पक्षसँग हार्दिक अपिल गर्दछ । राज्य शक्तिको आडमा निजीक्षेत्रमाथि गरिने ज्यादतीले तत्काल राज्यले केही राजस्व प्राप्त गरे पनि दीर्घकालमा यसको दुष्परिणाम निकै भयावह हुन सक्नेतर्फ पनि यो संघ सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छ । 

    अनिलकुमार अग्रवाल
    महासचिव


    images
    images

    Logo